बग्दाद । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासमा फेरि आक्रमण भएको छ ।
स्थानीय समयअनुसार बुधबार बिहान शक्तिशाली विस्फोटका आवाज सुनिएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र एएफपीले समाचार छापेका छन् ।
राजधानी बग्दादको कडा सुरक्षायुक्त ग्रिन जोन क्षेत्रमा रहेको उक्त दूतावास आसपास विस्फोट भएको प्रत्यक्षदर्शी र सुरक्षाकर्मीलाई उद्धृत गर्दै ती समाचार संस्थाहरूले बताएका छन् । सो क्षेत्रभित्र विदेशी दूतावासहरू, सरकारी कार्यालयहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूको कार्यालय रहेका छन् ।
प्रारम्भिक विवरणअनुसार आक्रमण ड्रोन र रकेटमार्फत गरिएको हुन सक्ने आशंका गरिएको छ । तर क्षतिको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन ।
अहिलेसम्म मानवीय क्षतिको पुष्टि भइसकेको छैन ।इरान–इजरायल द्वन्द्वपछि क्षेत्रीय तनाव चुलिँदै गएको अवस्थामा बग्दादस्थित अमेरिकी दूतावास बारम्बार इरानी निशानामा पर्दै आएको छ । यसअघि पनि सो दूतावासमाथि पटक–पटक रकेट तथा ड्रोन आक्रमण भइसकेका छन् ।