काठमाडौं। बङ्गलादेशका अन्तरिम सरकार प्रमुख तथा मुख्य सल्लाहकार मोहम्मद युनुसले आगामी संसदीय चुनाव हुने दिन नै राष्ट्रिय जनमत सङ्ग्रह गरिने घोषणा गरेका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले आगामी फेब्रुअरीमा हुने संसदीय निर्वाचनसँगै ‘जुलाई चार्टर’ सम्बन्धी जनमत सङ्ग्रह पनि गरिने घोषणा गरेका हुन्। यो जनमत सङ्ग्रह गत वर्ष विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि तयार गरिएको ‘जुलाई चार्टर’ लागू गर्नका लागि गरिने बताइएकाे छ।
उक्त चार्टरले बङ्गलादेशको राजनीति र संस्थागत संरचनामा सुधार ल्याउने उद्देश्य राखेको छ। जनमत सङ्ग्रहमा मतदाताहरूसँग चारवटा प्रश्नमा ‘हो’ वा ‘होइन’ भन्ने जवाफ मागिनेछ। यदि बहुमतले ‘हो’ भनी समर्थन गरे भने संविधान संशोधनका लागि विशेष संवैधानिक सुधार परिषद् गठन गरिनेछ।
अक्टोबर महिनामा अधिकांश राजनीतिक दलहरूले यस चार्टरमा हस्ताक्षर गरेका थिए। तर, गत वर्षको आन्दोलनका नेताहरू र चार वामपन्थी दलहरूले गठन गरेको नेशनल सिटिजन्स पार्टी (एनसीपी) ले चार्टरको बहिष्कार गरेको थियो। एनसीपीले चार्टरमा गरिएको वाचा कार्यान्वयनका लागि कुनै कानुनी ढाँचा वा निश्चित ग्यारेन्टी नदिएको भन्दै असहमति जनाएको छ।