फिनल्याण्डका एक सांसद इमेली पेल्टोनेन संसद भवन भित्रै मृत भेटिएका छन् । सोसल डेमोक्र्याटिक पार्टीका ३० वर्षीय सांसद पेल्टोनेन मंगलबार बिहान राजधानी हेलसिन्कीस्थित मुख्य संसद भवनभित्रै मृत भेटिएका हुन् ।
पेल्टोनेनले आत्महत्या गरेको हुन सक्ने अनुमान रहेको बीबीसीले जनाएको छ । घटनास्थल र उनको शव हेर्दा घटना शंकास्पद नभएकाले पेल्टोनेनले आत्महत्या गरेको हुनसक्ने अनुमान छ ।
बिहान ११ः०६ बजे प्रहरी घटनास्थल पुगेको थियो ।
पेल्टोनेन सन् २०२३ मा पहिलोपटक दक्षिणी उसिमान क्षेत्रबाट सांसदमा निर्वाचित भएका थिए ।
उनी १८ वर्षको उमेरमै जार्भेनपा सहरको नगर परिषद् सदस्यमा र २२ वर्षको उमेरमा नगर बोर्डको अध्यक्षमा चुनिएका उनी जुन पदमा पुग्ने सबैभन्दा कान्छो व्यक्ति थिए ।
गत जुन महिनाको अन्त्यतिर, पेल्टोनेनले सामाजिक सञ्जालमा आफू ‘मिर्गौलाको समस्या’ र त्यसपछिको संक्रमणका कारण केही हप्तादेखि संसदीय कामबाट टाढा रहेको जानकारी दिएका थिए ।
उनले अस्पतालबाट डिस्चार्ज भइसकेको तर स्वास्थ्य अवस्थाका कारण बिरामी बिदामा बसेर पूर्ण रूपमा निको हुनमा ध्यान केन्द्रित गरिरहेको बताएका थिए ।
संसदमा ग्रीष्मकालीन बिदा चलिरहेको थियो । घटनापछि फिनल्यान्डको सबै दलका राजनीतिज्ञहरूले दुःख व्यक्त गरेका छन् ।