January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

चेल्सीलाई पराजित गर्दै सिटी पाँचौं स्थानमा

995

काठमाडौं– चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीका इल्के गुन्डगन, फिल फोडेन र केभिन डे ब्रुयनले समान १–१ गोल गरे। घरेलु टिम चेल्सीका लागि कालुम हुड्सन ओडोईले एक गोल फर्काए। चेल्सीविरुद्ध जित निकाल्ने क्रममा सिटीले तीनै गोल पहिलो हाफमा गरेको थियो। खेलको १८ औं मिनेटमा गुन्डगनले गोल गर्दै सिटीलाई १–० गोलको अग्रता दिलाए। त्यसको तीन मिनेटपछि फोडेनले गोल गर्दै सिटीलाई २–० गोलको अग्रता दिलाए।

३४ औं मिनेटमा केभिन डे ब्रुयनले गोल गरेपछि चेल्सीविरुद्ध सिटीले पहिलो हाफमै ३–० गोलको फराकिलो अग्रता बनाएको थियो। पहिलो हाफमै सिटीविरुद्ध दबाबमा खेलेको चेल्सीले खेलको इन्जुरी समयमा गोल फर्काएको थियो। हुड्सनले गोल गर्दै ३–१ को स्थितिमा ल्याएपनि चेल्सीले सिटीलाई रोक्न भने सकेन।

Advertisement

यो जितसँगै म्यानचेस्टर सिटी लिगको पाँचौं स्थानमा उक्लिएको छ। सिटीले १५ खेलबाट २९ अंक बनाएको छ। पराजित चेल्सी भने १७ खेलबाट २६ अंक बनाउँदै लिगको आठौं स्थानमा छ।

आइतबार राति नै भएको अर्को खेलमा लेस्टर सिटीले जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। लेस्टरले न्युक्यासललाई २–१ गोलअन्तरले पराजित गरेको हो। लेस्टरले यो जितसँगै १७ खेलबाट ३२ अंक बनाएको हो। लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको १६ खेलबाट ३३ अंक छ।