August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि 

435

टोकियो — जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको मंगलबार अन्त्येष्टि गरिएको छ । आबेको अन्तिम बिदाइका क्रममा हजारौं जापानी नागरिक राजधानी टोकियोस्थित सडकमा उत्रिएर श्रद्धाञ्जली दिएका छन् । जापानीमाझ ६७ वर्षीय आबेको प्रभाव कतिसम्म छ भन्ने शवयात्रामा देखिएको उपस्थितिले समेत पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

आबेको स्थानीय समयअनुसार दिउँसो साढे २ बजेतिर टोकियोको मिनाटोस्थित जोजोजी मन्दिरमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । त्यसअघि आबेको पार्थिव शरीरलाई उनको दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयअघि शववाहन पुग्दा प्रधानमन्त्री फुमियो किसिदा, मन्त्रीहरू र अन्य उच्च पदस्थ अधिकारीले उनको शवमा फूलमाला र गुच्छा राख्दै सम्मान व्यक्त गरेका थिए । त्यसपछि, शवयात्रा संसद् भवनतर्फ सोझिएको थियो । यो त्यही स्थान थियो, जहाँ उनी सन् १९९३ मा एक सांसदका रूपमा पहिलो पटक प्रवेश गरेका थिए । संसद् भवनबाट शवयात्रा जोजोजी मन्दिरतर्फ अघि बढेको थियो ।

मौसमविद्हरूले टोकियोमा आज भारी वर्षा हुने आकलन गरे पनि त्यसको प्रवाह नगरी जापानीहरू बिहानैदेखि सडकमा निस्किएका थिए । शवयात्रा सुरु भएसँगै एलडीपी मुख्यालयदेखि जोजोजी मन्दिरसम्मै सडकका दुवै किनारमा हातमा फूलमाला, गुच्छा र बुके लिएकाको उपस्थिति बाक्लिँदै गएको थियो । शवयात्रामा सहभागीले आबेलाई असल नेतृत्वका लागि धन्यवाद दिएका बीबीसीले लेखेको छ । ‘हामीमाझ आबेजस्तै अर्को दोस्रो नेता कहिल्यै हुने छैनन्,’ समाचारमा एक महिलाको भनाइ उद्धृत गरिएको छ ।

Advertisement

जापानी इतिहासमा सबैभन्दा बढी समय सरकार प्रमुख रहेका आबे पटक–पटक विवाद र चर्चामा पनि रहिरहे । खासगरी आक्रामक रक्षा र विदेश नीतिका कारण उनी विवादमा तानिने गरेका थिए । उनको राष्ट्रवादी विचारले अमेरिका र भारतसँग निकटता र चीनसँग तनाव बढाएको थियो । कुनै पनि बाह्य सैनिक गठबन्धनमा सहभागी नहुने नीतिविपरीत सन् २०१५ मा आबेले सारेको सहयोगी मुलुकको रक्षाका लागि समेत जापानी सेना तैनाथ गर्न सक्ने घोषणाको व्यापक आलोचना भएको थियो । आबेको सबैभन्दा ठूलो इच्छाशक्ति दोस्रो विश्वयुद्धताकाको जापानको सैन्य प्रभावलाई पुनःस्थापित गर्नु थियो । तर, यसमा उनी सफल हुन भने सकेनन् । परमाणु हतियार प्रयोग सम्बन्धमा सक्रिय बहस थाल्नुपर्ने तथा व्यक्तिगत सुरक्षामा बन्दुक प्रयोग गर्न नपाउने कानुन संशोधन गरिनुपर्नेलगायत उनका कतिपय भनाइमा जापानीहरू नै विरोधमा थिए ।