August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

श्रीलंका: राष्ट्रपति र प्रधानमन्त्री पदबाट राजीनामा दिन सहमत, सरकार बनाउने तयारीमा विपक्षी दल

535

राष्ट्रपति र प्रधानमन्त्री पदबाट राजीनामा दिन सहमत भएपछि श्रीलंकामा विपक्षी दलले आइतबारदेखि नयाँ सरकार गठनको तयारी थालेका छन् । यद्यपी राष्ट्रपति र प्रधानमन्त्रीले आधिकारिक रूपमा राजीनामा भने दिएका छैनन् ।

हजारौं प्रदर्शनकारीले शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवासमा तोडफोड गरेसँगै राष्ट्रपति र प्रधानमन्त्री पदबाट राजीनामा दिन सहमत भएका हुन् ।

राष्ट्रपति राजपाक्षेको निवास, समुद्र किनारमा रहेको कार्यालय तथा प्रधानमन्त्री निवासमा अझै पनि प्रदर्शनकारी रहेका छन् । आधिकारिक रूपमा राजीनामा नदिएसम्म प्रदर्शनकारीले त्यहीँ धर्नामा बस्ने बताएका छन् । कोलोम्बो सहरमा सैनिक परिचालन गरिएको छ भने रक्षा प्रमुख साभेन्द्र सिल्भाले शान्ति तथा सुव्यवस्था कायम गर्न सघाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् । प्रमुख विपक्षी दलका सांसद एमए सुमान्थिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने, बहुमत पुगेपछि राष्ट्रपति राजापाक्षेलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बन्ने बताए । उनले आइतबार अबेरसम्म सहमति बन्ने विश्वास व्यक्त गरे ।

Advertisement

प्रधानमन्त्री रनिल विक्रमासिंघेले नयाँ सरकार बनेपछि आफूले पद त्याग्ने बताएका छन् । सभामुख महिन्दा यापा अवेबर्धनाले राष्ट्रपति राजापाक्षेले बुधबार पद त्याग्ने जानकारी दिएका छन् ।

प्रदर्शनकारीले राष्ट्रपति निवासलाई नियन्त्रणमा लिँदा राष्ट्रपति गोटाबय राजपाक्षे निवासमा भएनभएको प्रस्ट भएको छैन । श्रीलंकाली सरकारका प्रवक्ता मोहन समारानायकेले राष्ट्रपति कहाँ छन् भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताए ।