August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

840

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको जापानी सञ्चारमाध्यहरुले जनाएको छ ।

छातीमा गोली लागेका पूर्वप्रधानमन्त्री आबेको शरीरबाट रगत बगेको र उनी ढलेको बताइएको छ । उनलाई एम्बुलेन्समा हालेर अस्पताल लगिएको जनाएको छ ।

गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पु¥याइएको थियो । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पु¥याउँदासम्म बोलिरहेका उनी अहिले अचेत छन् । उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

Advertisement

नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका उनलाई गोली प्रहार भएको हो । स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनलाई गोली प्रहार गरिएको थियो ।

आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

६७ वर्षका आबेले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।