November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

डढेलोले अमेरिकामा २ को मृत्यु‚ ५ हजार विस्थापित

3.6K

न्यू मेक्सिको : अमेरिकाको न्यू मेक्सिकोको जंगलमा लागेको डढेलोबाट बचेकी डग्लस सिडेन्सकी आमाको शरीरमा लुगा मात्र बाँकी छ। सबै जलेर खरानी भएको छ।

सिडेन्सले भने‚ ‘आरभी पार्कको जुन ठाउँमा मेरी आमा बस्नुहुन्थ्यो‚ त्यो अहिले धातुको संरचना भएको छ।’ उनले पार्क सञ्चालन गर्दै आएका थिए।

उनले भने, ‘मेरी आमाले सबै गुमाउनु भयो। मसँग १० जना विस्थापित छन् र तिनीहरूका घर खरानी भएका छन् र सबै चीज नष्ट भएको छ।’

Advertisement

रुइडोसो गाउँ नजिकै मंगलबार भएको आगलागीमा दुईजनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घर जलेर नष्ट भएको दमकल अधिकारीहरूले जानकारी दिएका छन्। रुइडोसो पर्यटकीय गन्तव्य हो, जहाँ हरेक वर्ष गर्मीको समयमा हजारौं पर्यटक र घोडसवार गर्ने इच्छुकहरू भेला हुन्छन्।

आगलागीबाट रुइडोसोको पहाडी समुदायका ५ हजार मानिसलाई त्यहाँबाट निकाली सुरक्षित स्थानमा सारिएको छ।आरभी पार्कमा यसै हप्ता एक वृद्ध जोडी जलेको अवस्थामा फेला परेको थियो।

अमेरिकाको टेक्सस, ओक्लाहोमा र कोलोराडो राज्यमा पनि अग्निनियन्त्रकहरू भीषण आगलागीलाई नियन्त्रण गर्ने युद्धस्तरमा खटिएका छन्। कोलोराडोस्थित बोल्डरबाट करिब २९ किलोमिटर उत्तरमा रहेको लियोन नजिकैको रकी माउन्टेनको पूर्वी भागमा शुक्रबार लागेको आगलागीले मानिसहरूलाई बाहिर निकाल्नुपरेको थियो।

न्यू मेक्सिकोमा केही सय सेवाग्राही बाहेक सबैका घरमा बिजुली सेवा चालू गरिएको छ। ५ हजार मानिसहरूलाई घर खाली गर्न दिएको आदेश भने यथावत् छ।

आगलागीबाट पीडित भएका क्षेत्रलाई वरपरका समुदायबाट ठूलो मात्रामा सहायता उपलब्ध गराइएको छ। एक दशकअघि पनि रुइडोसो गाउँको एक भागमा लागेको आगलागीमा २४० घर खरानी भएका थिए भने १८१ वर्ग किलोमिटर क्षेत्रफलको जङ्गल जलेर खरानी भएको थियो।

अग्नि नियन्त्रकहरूले अर्को गाउँलाई जल्नबाट बचाउन प्रयास गरिरहेको मेयर लिन क्रफोर्डले बताए। उनले भने, ‘हामीसँग खाने पिउने कुरा पर्याप्त छ, हामीसँग पर्याप्त लुगा छन्। हाम्रा लागि प्रार्थना गर्नुहोस्।’

अग्नि सूचना अधिकारी माइक डिफ्राइजले आगो अझै सक्रिय भएको र गाउँमा सुरक्षित ठाउँ कतै नभएको बताए। 
‘मानिसहरूलाई चाँडोभन्दा चाँडो गाउँ फर्कन पाऊन् भनेर हामी आगो निभाउन हरेक कदम चालिरहेका छौं।’