November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रसंघको मानव अधिकार परिषदबाट रूस निलम्बित

2.5K

काठमाडाैं । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यबाट रूसलाई निलम्बित गरिएको छ।

बिहीबार राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा रूसलाई सदस्यबाट हटाउनु पर्ने पक्षमा बहुमत राष्ट्रले मतदान गरेपछि डेढ महिनादेखि युक्रेनमा आक्रमण गरिररहेको रूस निलम्बनमा परेको हो।

रूसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मुलुकले मत दिएका थिए। ५८ मुलुक तटस्थ बसेका थिए।

Advertisement

मतदानमा नेपाल पनि तटस्थ बसेको थियो। गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण थालेपछि राष्ट्रसंघमा भएका सबै मतदानमा नेपालले आफूलाई युक्रेनको पक्षमा उभ्याउँदै आएको थियो।

नेपालका दुई छिमेकीमध्ये भारत तटस्थ बसेको थियो भने चीनले प्रस्तावको विपक्षमा मत दिएको थियो।

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट कुनै मुलुकलाई बिरलै निलम्बन गरिन्छ। यसअघि सन् २०११ मा सरकारविरोधी प्रदर्शनकारीमाथि चरम दमन गरेको भन्दै लिवियालाई निलम्बन गरिएको थियो।

अहिले युक्रेनमाथिको आक्रमण गरिरहेको रूसलाई युक्रेनमा मानव अधिकारको गम्भीर उल्लंघन गरेको आरोपमा निलम्बन गरिएको हो।

मतदानअघि रूसले प्रस्तावको पक्षमा मतदान गर्ने वा तटस्थ बस्ने कुरालाई आफूले राम्रो सन्देशका रूपमा नलिने बताएको थियो।