November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युक्रेनको बुचामा ५७ जनाको सामूहिक चिहान भेटियो

2.3K

काठमाडौं : रूसी सेनाबाट यूक्रेनी सेनाले फिर्ता लिएको किभ नजिकैको बुचा सहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको स्थानीय अधिकारीले जनाएका छन्। 

बुचामा उद्धार सेवाका प्रमुखको रूपमा आफूलाई चिनाउने सेरही काप्लिच्नीले भने, ‘यहाँ यो लामो चिहानमा ५७ जनाको शव गाडिएको छ।’ शहरको मध्यभागमा रहेको चर्चको पछाडि सामूहिक चिहान रहेको छ।

जमिनमुनि गाडिएका शवमध्ये करीब १० वटा लासलाई माटोले आधा पुरिएको अवस्थामा देखिएको  एएफपीले जनाएको छ।  सामूहिक चिहानमा भेटिएकामध्ये केही लासहरू कालो जिपभएको झोलासहित सुरक्षाकर्मीको पहिरनमा थिए भने अरूचाहिं सामान्य पहिरनमा थिए।​

Advertisement

यूक्रेनले रुसी सेनालाई बुचामा ‘जानीजानी नरसंहार’ गरेको आरोप लगाएको छ। यूक्रेनी सेनाको शसक्त प्रतिरोधपछि रूसी सेनाले राजधानीबाट बिस्तारै पछि हट्दै गरेको समयमा कीभ वरिपरि रूसले गरेको गैरसैनिक व्यक्तिको हत्याका प्रमाणहरू देखा परेका छन्।

एएफपी संवाददाताहरूले शुक्रबार बुचाको एउटा सडक छेउमा गैर–सैनिक पहिरन लगाएका कम्तीमा पनि २० वटा लास देखेको बताएका छन्। ती मृत शरिरमा एउटा शव हात पछाडि सेतो कपडाले बाँधेको अवस्थामा नजिकै यूक्रेनी पासपोर्टसहित भेटिएको पुष्टि गरेका छन्।