February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

रुसी हमलाको पछिल्लो दुई सातामा २५ लाख युक्रेनी नागरिक शरणार्थी बने

२०७८ फाल्गुन २८

2K

काठमाडौं । संयुक्त राष्ट्रसंघका अनुसार रुसी हमलाको पछिल्लो दुई सातामा २५ लाख युक्रेनी नागरिक शरणार्थी बनेका छन् । राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो गान्डीले रुसी आक्रमणबाट शरणार्थी बन्ने युक्रेनीको संख्या बढिरहेको बताएका हुन् । उनले शरणार्थी बन्न बाध्य २५ लाखमध्ये एक लाख १६ हजार तेस्रो मुलुकका नागरिक रहेको जानकारी दिएका छन् । उनका अनुसार थप २० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भएका छन् ।

युक्रेनी रक्षामन्त्री ओलेस्की रज्निकोभले रुसी हमलामा सैनिकभन्दा बढी गैरसैनिक मारिएको बताएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्किीले युक्रेनले रासायनिक हतियार बनाइरहेको भन्ने रुसी आरोपको खण्डन गरेका छन् । उनले बिहीबार राति सम्बोधन गर्दै रुसी दाबीमा कुनै सत्यता नभएको बताएका हुन् । अमेरिकाले रुसको उक्त आरोपलाई हास्यास्पद भनेको छ ।

साथै रुसले युक्रेनमाथि सोही किसिमका हतियार प्रयोग गर्न सक्ने सम्भावनलाई यसले पुष्टि गरेको आरोप अमेरिकाको छ । रुस र युक्रेनका विदेशमन्त्रीबीच बिहीबार टर्कीमा भएको भेटवार्तामा कुनै प्रगति भएको छैन ।

Advertisement

अन्तराष्ट्रिय समाचारहरुका अनुसार दुई समकक्षीबीच भएको कुराकानीमा युद्धविरामको पक्षमा कुनै प्रगति भएको छैन । युक्रेनको राजधानी किएभतर्फ अघि बढिरहेका रुसी सैनिक पछिल्लो २४ घण्टामा राजधानीबाट पाँच किलोमिटरको दूरीमा पुगेको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन् ।