March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै

२०७८ फाल्गुन २५

4.4K

काठमाडौं । चीनियाँ विदेशमन्त्री वाङ यी चैतको दोस्रो साता नेपाल आउँदैछन । उनि दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएका हुन । नेपाल सरकारको निम्तोमा चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने अनुमान गरिएको छ ।

अमेरिकी सहयोग निकाय एमसीसीसँग विद्युत् र सडक पूर्वाधारसम्बन्धी परियोजनाका लागि चार वर्षअघि भएको सम्झौता संसद्बाट अनुमोदन भएपछि चीनले पनि भूराजनीतिक सरोकारको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनालाई कार्यान्वयनमा लैजान तदारुकता देखाएको छ । यही सन्देश दिन विदेशमन्त्री वाङ नेपाल आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए ।

यसअघि एमसीसी सम्झौता संसद्बाट अनुमोदनका लागि अमेरिकाले दबाब बढाउँदा ‘धम्कीपूर्ण कूटनीति’ भन्दै चीनले सार्वजनिक रुपमै प्रतिक्रिया जनाएको थियो । अर्कातिर २०७२ को भूकम्पपछि र विशेषतः कोरोना महामारीको पछिल्लो २ वर्षमा चिनियाँ नाकामा लगातार जारी अवरोधमाथि पनि सार्वजनिक बहस भइरहेको छ ।

Advertisement

परराष्ट्रमन्त्री नारायण खड्काले चिनियाँ समकक्षी वाङको भ्रमणको तयारी भइरहे पनि मिति र एजेन्डा टुंग्याउनै बाँकी रहेको बताए । ‘म टर्कीबाट फर्केपछि मिति तोकिन्छ, त्यसपछि के–के विषयलाई छलफलमा राख्ने भन्नेबारे एजेन्डा तय हुन्छ,’ मंगलबार टर्की उड्नुअघि खड्काले भने ।

खड्का टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा तीन सदस्यीय प्रतिनिधिको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन । उनी फागुन २७ देखि २९ सम्म टर्कीको अन्तालियामा हुने कार्यक्रममा सहभागी भएर स्वदेश फर्किनेछन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार सभामुख अग्निप्रसाद सापकोटासँगको शिष्टाचार भेटवार्ताका क्रममा वाङको भ्रमणबारे जानकारी गराएकी थिइन् ।

राजदूत यान्छीले वाङको भ्रमणलाई लिएर दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइसकेको बताएकी थिइन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको २०७६ असोज तेस्रो साता भ्रमण हुनुपूर्व भदौ तेस्रो सातामा विदेशमन्त्री वाङ नेपाल आएका थिए ।