January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

युक्रेनमा मानविय संकट, शव उठाउने मानिस पनि छैनन्

२०७८ फाल्गुन २३

4.1K

काठमाडौं : १२ दिनदेखि रुसले जारी राखेको आक्रमणले युक्रेनमा मानवीय संकट गहिरिँदै गएको छ। 

आवसीय क्षेत्रमा रुसले आक्रमण जारी राखेपछि सर्वसाधारणलाई खाना र पानीको अभावसमेत चर्किँदै गएको छ। सैनिक नभएको क्षेत्रमा समेत रुसले तीव्ररुपमा मिसाइल र रकेट आक्रमण जारी राखेको छ। यी क्षेत्रमा आक्रमणमा मृत्यु भएकाको शव उठाउन र घाइतेलाई अस्पताल पुर्‍याउनसमेत समस्या भएको छ। 

रुसी आक्रमणमा मारिएका कयौँ व्यक्तिको शव सडकमै रहेको बताइएको छ। हिजो इरपिन नगरबाट सुरक्षित स्थानतर्फ भाग्दै गरेका सर्वसाधारणमाथि रुसले गोलाबारी गरेको थियो। भाग्न निस्किएका कयौँ मानिस रुसी आक्रमणमा मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

Advertisement

यस्तै राजधानी किभमा रुसी फौजले गएराति अबेरसम्म भीषण गोलाबारी गरेको छ। साथै मारियुपोल र खार्किभ सहरका आवसीय भवनमा भीषण बम वर्षा भएको छ। 

यसैबीच युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दै रुसमा ठूला प्रदर्शन जारी छन्। राजधानी मस्कोमा हिजो भएको प्रदर्शनमा १७ सय मानिस गिरफ्तार भएका छन्। 

सेन्ट पिटर्सबगमा भएका प्रदर्शनमा ७ सय ५० जना गिरफ्तार भएका छन्। अन्य सहरहरुमा पनि रुस सरकारविरुद्ध प्रदर्शन भएका छन्। मानवअधिकारकर्मीहरुले संकलन गरेको तथ्यांकअनुसार युक्रेनविरुद्धको आक्रमण रोक्न रुसमा भएका प्रदर्शनमा हालसम्म १० हजार ९ सय ४६ जना गिरफ्तार भएका छन्।