छिमेकी युक्रेनको सीमामा पुगेका झन्डै १ लाख ३० हजार बढी रूसी सैनिकमध्ये केही आफ्नो ब्यारेकमा फर्किन थालेका छन्। रूसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले रूसी सैनिकहरू ब्यारेकमा फर्किन लागेको उल्लेख गरेको छ।
रूसी समाचार संस्था तासले रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै दक्षिण तथा पश्चिम मिलिटरी डिस्ट्रिक्टका सैनिकहरू आफ्नो ड्रिल सकेर फर्किन लागेको जनाएको छ। सैनिकहरू कोही रेल, कोही गाडी र कोही पैदल फर्किने समाचारमा उल्लेख छ। केही समयदेखि रूसी सैनिकले युक्रेनलाई घेरेपछि रूसले आक्रमण गर्न लागेको भन्दै संसारभरिको ध्यान युक्रेनमा केन्द्रीत भएको थियो।
अमेरिकालगायत मुलुकहरूले आफ्नो नागरिक र कूटनीतिज्ञलाई युक्रेन छोड्न भनेका थिए। रूसले भने युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको थियो। युक्रेनको सीमामा खटिएका कति सैनिक ब्यारेक फर्किएका हुन् भन्नेबारे विस्तृत विवरण आइसकेको छैन।
रूसी सैनिकले तीनतिरबाट युक्रेनलाई घेरेपछि पश्चिमा मुलुकहरूले सैन्य र कूटनीतिक दुबै रणनीति अपनाएका थिए। अमेरिकी युक्रेनका छिमेकी नेटो सदस्य राष्ट्रहरूमा सैनिक थपेको थियो भने मस्कोसँग कूटनीतिक कुराकानीलाई पनि तीव्रता दिएको थियो।
फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रों रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई भेट्न मस्को पुगेका थिए भने अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनसँग एक घन्टा टेलिफोनमा कुराकानी गरेका थिए।