November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कोभिडको नयाँ भेरियन्ट थप संक्रामक हुने डब्ल्यूएचओको चेतावनी

2K

जेनेभा : कोरोनाको ओमिक्रोन भेरियन्टको त्रासबाट मुक्त हुन नसकेका वेला फेरि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ भेरियन्टबारे चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनले ओमिक्रोनको बीए.२ (BA.2) सब भेरियन्ट (उपसंस्करण) विश्वव्यापी रूपमा फैलने आशंका व्यक्त गरेको छ ।

यद्यपि सब भेरियन्टले ओमिक्रोनबाट संक्रमित व्यक्तिलाई पुन: संक्रमण गर्छ कि गर्दैन भन्ने अझै स्पष्ट छैन। ओमिक्रोनपछि पनि कोरोनाका धेरै नयाँ संस्करण आउन सक्ने डब्ल्यूएचओले बताएको छ । यो भेरियन्ट पहिचान गर्न निकै कठिन हुने भएकाले ‘स्टिल्थ भेरियन्ट’ पनि भनिन्छ। 

डब्ल्यूएचओको कोभिड–१९ प्राविधिक टोलीको नेतृत्व गर्ने इपिडिमियोलोजिस्ट मारिया भान केरखोभले बीए.२ सब भेरियन्ट बीए.१ भन्दा बढी संक्रामक भएको बताइन्। उनले अबको केही समयमा यो कोरोना संक्रमणको प्रमुख कारण पनि बन्न सक्ने बताइन्।

Advertisement

डब्ल्यूएचओको सामाजिक सञ्जाल प्लाटफर्ममा गरिएको लाइभ प्रसारणमा उनले यस्तो जानकारी दिएकी हुन्। त्यसैले बीए.२ भेरियन्ट छिटै फैलने खतरा व्यक्त गरिएको हो। उनले भनिन्‚ ‘ओमिक्रोन तीव्रगतिमा फैलिएको र निको भएका देशहरूमा यो सब भेरियन्टले कस्तो प्रभाव पार्छ भन्ने विषयमा डब्ल्यूएचओले बीए.२ को अनुगमन गरिरहेको छ।’

उनले यसबारे अनुसन्धान भइरहेको पनि बताइन्। ओमिक्रोन द्रुत रूपमा फैलिन्छ, यद्यपि यसले अल्फा र डेल्टा भेरियन्टको भन्दा कम पीडा दिन्छ। डेनमार्कका अन्वेषकहरूले बीए.१ को तुलनामा बीए.२ डेढ गुणा बढी संक्रामक भएको पुष्टि गरेका छन्। खोप लगाइएका व्यक्तिमा संक्रमण बढी देखिएको उनीहरूको भनाइ छ।

भ्यान केरखोभले भनिन्‚ ‘खोप गम्भीर रोग र मृत्यु रोक्न प्रभावकारी छ तर यसले सबै संक्रमण रोक्न सक्दैन।’ उनले मानिसहरूलाई खोप लगाउन र मास्क लगाउन आग्रह गरे। प्रतिवेदनमा डब्ल्यूएचओका कोभिड घटना प्रबन्धक डा अब्दी महमुदले बीए.१ बाट संक्रमित भएकालाई बीए.२ ले संक्रमित गर्न सक्छ कि भनेर स्पष्ट नभएको बताए।