काठमाडौं । उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहका वरिष्ठ उपप्रमुख अबु इब्राहिम अल-हाशिमी अल-कुरेशी मारिएका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार उनले अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि उनले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त कारबाहीका क्रममा सर्वसाधारणलाई सकेसम्म जोगाउने कोसिस गरिएको बताएका छन् ।
गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई उनी लुकेको स्थानमा घेरा हालेका थिए । त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबार मध्यरातको उक्त छापामार शैलीको कारबाहीबारे जानकारी दिएका छन् । इब्राहिमको अन्त्यले विश्वका लागि ठूलो आतङ्कवादी खतरा हटाएको बाइडनले बताएका छन् ।
अमेरिकी अधिकारीहरूले मारिएका आईएस नेताको नाम उल्लेख नगरी महिनौँको योजनामा भएको उक्त कारबाहीको नाटकीय विवरण दिएका छन् । आईएसले हालसम्म उक्त घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन ।
टर्कीसँग सीमा जोडिएको इड्लिब प्रान्तको अत्मा सहरको बाहिरी इलाकास्थित एउटा तीन तले घरलाई लक्षित गरेर अमेरिकाले उक्त कारबाही गरेको बताइएको छ । त्यो जिहादी समूहहरूको पकड क्षेत्र हो । त्यहाँ आईएसविरोधी समूहहरू पनि लडिरहेका छन् भने टर्कीको समर्थन पाएका विद्रोहीहरू सिरियाली सरकारसँग लडिरहेका छन् ।