ब्राजिलमा अविरल बर्षासँगै आएको बाढी परि मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि २८ पुगेको छ। ब्राजिलमा गएका केही दिनदेखि वर्षा कायमै छ ।
उद्धारसम्बन्धी अधिकारीहरुका अनुसार बाढीका कारण हराइरहेका तीन जना व्यक्तिको बुधबार शव भेटिएको थियो । त्यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बाढीका कारण विस्थापित भएका बताइएको छ ।
बाढीका कारण त्यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । त्यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।
त्यहाँका अधिकारीहरुले केही स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेको बताएका छन् । केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पुर्याइरहेका बताइएको छ । उद्धारमा खटिएका अधिकारीहरुले अरु सात जना व्यक्ति हराइरहेका बताएका छन् ।
त्यहाँका मौसम विद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन् । ब्राजिलको साओपाओलो राज्य सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।