April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भर्चुअल बैठक

२०७८ कार्तिक २९

2.7K

काठमाडौं : अमेरिका र चीनबीच लामो समयदेखि विभिन्न मुद्दामा जारी गतिरोधबीच आज अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्चुअल बैठक हुने भएको छ। 

यी दुई शक्तिशाली देशले गत साता स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि साझा सहमति गरेका थिए। तर‚ व्यापारका विषयमा शीतयुद्धमा रहेका दुई देशबीच ताइवानको मुद्दाले झनै दूरी बढाइरहेको छ। आज हुने दुई राष्ट्रपतिबीचको बैठकमा साइबर सुरक्षा, व्यापार र परमाणु लगायतका मुद्दामा छलफल हुन सक्ने बताइएको छ। 

शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुवै देशका नेता अमेरिका र चीनबीच जारी प्रतिस्पर्धालाई जिम्मेवारीका साथ कायम राख्ने विषयमा चर्चा गर्ने जनाएको छ। साथै साझा हितका मामिलामा मिलेर अघि बढ्नेबारे पनि छलफल हुने ह्वाइट हाउसले बताएको छ। 

Advertisement

गत जनवरीमा अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि जो बाइडेन र सी जिनपिङबीच दुईपटक वार्ता भएको छ। दुवै नेताले दुई देशबीच केही मुद्दालाई लिएर गतिरोध रहेको स्वीकार गर्दै आएका छन्। गत हप्ता चिनियाँ राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्ध सुदृढ बनाउन आफूहरु तयार रहेको बताएका थिए।