काठमाडाैं । भारतीय सर्वोच्च अदालतले दिल्लीमा बढ्दो प्रदूषणलाई लिएर शनिबार सुनुवाइका क्रममा सरकारले दुई दिनको लकडाउनबारे विचार गर्नुपर्ने सुझाव दिएको छ।
भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशद्वय डि वाई चन्द्रचूडा र सूर्यकान्तको इजलासले उक्त सुझाव दिएको हो।
अदालतले वायु प्रदूषणका कारण उत्पन्न हुने आपत्कालीन अवस्थासँग जुध्न गरिएका निर्णयबारे सोमबार जानकारी गराउन केन्द्र सरकारलाई निर्देशन दिएको छ। अर्को सुनुवाइ सोही दिन हुनेछ। न्यायाधीशले पराल जलाउनुका साथै उद्योग, पटाका र धुलो दिल्लीमा प्रदूषणको कारण भएको बताए। उनले दुई दिनको लकडाउन पनि यसको समाधान हुन सक्ने बताएका छन्।
राज्यहरूले कडा कदम चाल्नुपर्ने
सुनुवाइका क्रममा प्रधानन्यायाधीशले राजधानीमा प्रदूषणको अवस्था खराब भएको र मानिसहरू घरमै मास्क लगाउन बाध्य भएको बताए। यसबारे सरकारले चालेका कदमको जानकारी दिन माग गरे।
यसबारे महान्याधिवक्ताले पराल जलाउँदा दिल्लीमा प्रदूषण बढेको बताएका थिए। उनले किसानलाई जरिवाना गर्नुपर्ने माग गरेका थिए। यसमा प्रधानन्यायाधीशले भने, ‘तपाईँ प्रदूषणका लागि किसान जिम्मेवार छन् भन्न चाहनुहुन्छ। यसलाई नियन्त्रण गर्ने संयन्त्र कहाँ गयो ? अल्पकालीन योजना के हो? दुई दिनको लकडाउन पनि समाधान हुन सक्छ।’
सर्वोच्च अदालतले केन्द्र सरकारलाई आजै बैठक बोलाएर आपतकालीन कदम चाल्न आदेश दिएको छ। यसबारे महान्यायाधिवक्ताले आज बैठक बस्ने बताए।