लागुऔषध हेरोइन तस्करी गरेको भन्दै एक मलेसियन नागरिकलाई सिंगापुरले मृत्यु दण्ड दिने भएपछि मानवअधिकारकर्मीहरुले उक्त मृत्युदण्ड रद्द गर्न आग्रह गरेका छन् । बाह्र वर्षदेखि जेलमा रहेका उनलाई सिंगापुरले अर्को साता मृत्युदण्ड दिने भएको छ ।
३३ वर्षका नागेनथ्रन धर्मलिंगम सन् २००९ मा पक्राउ परेका थिए । साढे एक औंस अर्थात् ४२ ग्रामभन्दा बढी हेरोइन तिघ्रामा बाँधेर मलेसियाबाट सिंगापुर प्रवेश गर्न खोजेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो । धर्मलिंगमलाई आउँदो बुधबार फाँसी दिने तय भएको छ ।
मृत्युदण्डको दिन नजिकिएसँगै मलेसियामा विरोध प्रदर्शन सुरू भएको छ । मृत्युदण्ड खारेज गरिपाऊँ भन्दै अनलाइनमार्फत् हस्ताक्षर संकलन भइरहेको छ । अहिलेसम्म ५२ हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् ।
‘धर्मलिंगमलाई सुनाइएको मृत्युदण्डबाट सिंगापुरको न्यायिक प्रणाली बौद्धिक रूपले अक्षम व्यक्तिहरूको सुरक्षा र हित संरक्षण गर्न असफल छ भन्ने देखाउँछ,’ अनलाइन याचिकामा भनिएको छ ।
सिंगापुर सरकारले अदालती निर्णयको बचाउ गर्दै मलेसियन नागरिक धर्मलिंगममाथि लागेको आरोपमा निष्पक्ष सुनुवाइ भएको बताएको छ ।
करिब ६० लाख जनसंख्या भएको सिंगापुर प्रतिव्यक्ति आम्दानीका आधारमा दक्षिणपूर्वी एसियाकै सबभन्दा धनी देश हो । कुनै पनि अपराधमा मृत्युदण्ड दिने कि नदिने भन्नेबारे सिंगापुरमा बहस जारी छ । त्यहाँको कानुनअनुसार हुलदंगा गर्ने र लागुपदार्थ ओसारपसार गर्नेलाई मृत्युदण्ड दिइन्छ ।
लागुपदार्थको मामिलामा सिंगापुरको कानुन एकदमै कडा छ । थोरैभन्दा थोरै परिमाणको लागुपदार्थ फेला परे पनि कुनै सहानुभूति राखिँदैन । कानुनअनुसार मृत्युदण्ड दिइन्छ । सिंगापुरले पछिल्लोचोटि सन् २०१९ मा मृत्युदण्ड दिएको थियो । त्यति बेला चार जनाले फाँसीको सजाय पाएका थिए ।
धर्मलिंगमलाई हेरोइनसहित सिंगापुर प्रवेश गर्न खोज्दा सीमा सुरक्षाकर्मीले पक्राउ गरेको थियो । उनीसँग बरामद भएको ४२ ग्रामभन्दा बढी हेरोइन ५१० जना प्रयोगकर्तालाई करिब एक साता आपूर्ति गर्न पुग्ने प्रहरीले जनाएको छ ।
धर्मलिंगमको मुद्धा सन् २०१० देखि चलिरहेको थियो । सुरूमा उनले आफूलाई लागुपदार्थ ओसार्न बाध्य पारिएको बयान दिएका थिए । पछि पैसाको खाँचो परेकाले स्वेच्छाले लागुपदार्थ ओसारेको बयान दिए । त्यसपछि सिंगापुर अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनले सन् २०१५ मा मृत्युदण्ड सजायलाई आजीवन कारावासमा बदल्न अदालतसमक्ष अपिल गरेका थिए ।
धर्मलिंगमको बौद्धिक क्षमता स्तर औसतभन्दा कम भएकाले यस्ता व्यक्तिलाई अन्तर्राष्ट्रिय कानुनअनुसार मृत्युदण्ड दिन नमिल्ने वकिलहरूको तर्क छ ।
बौद्धिक क्षमता परीक्षण गर्दा धर्मलिंगमको सामान्य ज्ञान स्तर ६९ पाइएको थियो । अन्तर्राष्ट्रिय रूपमा सामान्य ज्ञानको स्तर ७० हुनुपर्ने मान्यता छ । त्योभन्दा कम सामान्य ज्ञान भएको मान्छे आफूले गरेका काम सही हो कि गलत भनी छुट्टयाउन असमर्थ हुने वकिलहरूको भनाइ छ ।
यही आधारमा धर्मलिंगमलाई हेरोइन बोकेर सिंगापुर प्रवेश गर्नु गैरकानुनी हो भन्ने थाहा नभएको वकिलहरूले जिकिर गरेका छन् ।
सिंगापुर अदालतले भने वकिलहरूको तर्क स्वीकार गरेन । उनको अपिल २०१७ मा अदालतले खारेज गरिदियो ।
सामान्य ज्ञान जति भए धर्मलिंगमलाई आफूले गरेको काम गैरकानुनी हो भन्ने राम्ररी थाहा भएको र उनी आफैंले पैसा खाँचो परेर लागुपदार्थ ओसारेको बयान दिएकाले उनी सही–गलत छुट्टयाउन समर्थ रहेको अदालतले भनेको छ ।
अदालतले गत महिना उनको परिवारका सदस्यहरूलाई नोभेम्बर १० मा फाँसी दिइने जानकारी गराएको थियो ।
मृत्युदण्ड सजायका विरोधीहरूले यसै साता मलेसियाको क्वालालम्पुरस्थित सिंगापुर उच्च आयोगअगाडि विरोध प्रदर्शन गरेका छन् । कूटनीतिक पहलबाट धर्मलिंगमको सजाय कटौती गराउन उनीहरूले मलेसिया सरकारसँग आह्वान पनि गरेका छन् ।
‘यस्तो अमानवीय सजाय सच्याउन र धर्मलिंगमप्रति सहानुभूति देखाउँदै मृत्युदण्ड कटौती गर्न अझै पनि समय छ,’ सिंगापुरस्थित एमनेष्टी इन्टरनेसनलका अनुसन्धाता रेचल होवार्डले भने ।
कुनै पनि मानिसको ज्यान लिने गरी सजाय दिनु बर्बरतापूर्ण रहेको उनले बताएका छन् ।
सिंगापुरकै मनोचिकित्सहरूले समेत धर्मलिंगमको बौद्धिक स्तर कमजोर रहेको प्रमाणित गरिसकेकाले यस्ता मानसिक रूपले अस्वस्थ व्यक्तिमाथि न्यायिक सहानुभूति राख्न उनले सिंगापुर सरकारसँग अपिल गरेका छन् ।
सिंगापुरको कानुन अनुसार लागुपदार्थको मामिलामा थोरैभन्दा थोरै परिमाणको लागुपदार्थ फेला परे पनि मृत्युदण्ड दिइन्छ । सिंगापुरले पछिल्लोचोटि सन् २०१९ मा मृत्युदण्ड दिएको थियो । त्यति बेला चार जनाले फाँसीको सजाय पाएका थिए ।
धर्मलिंगमलाई हेरोइनसहित सिंगापुर प्रवेश गर्न खोज्दा सीमा सुरक्षाकर्मीले पक्राउ गरेको थियो। उनीसँग बरामद भएको ४२ ग्रामभन्दा बढी हेरोइन ५१० जना प्रयोगकर्तालाई करिब एक साता आपूर्ति गर्न पुग्ने प्रहरीले जनाएको छ ।