February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

बेलायतमा प्रथम भिक्टोरिया क्रस विजेता कुलवीर थापाको सालिक

5.4K

लन्डन । बेलायतमा प्रथम भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण भएको छ । बेलायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा निर्माणधिन रहेको उक्त शालिकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

बेलायतस्थित नेपाली समुदायकै आर्थिक सहयोगमा करिब एक लाख ८५ हजार पाउण्ड, नेपाली रुपान्तरण तीन करोड रुपैयाँ लागतमा बनेको उक्त शालिकको उद्घाटन २५ सेप्टेम्बरका दिन हुने भएको छ ।

बेलायती रक्षा राज्यमन्त्री लियो डोचर्टीको पनि उपस्थितिमा शुक्रबार स्थानीय रसमोर काउन्सिल र ग्रेटर रसमोर नेपाली समुदायको संयुक्त पहलमा थापाको सालिक प्रतिस्थापन गरिएको हो ।

Advertisement

डोचर्टीले भिसी कुलवीर थापाको सालिक गोर्खा ब्रिगेड र ब्रिटिश लामो समयदेखिको सेनाबीच रहेको ऐतिहासिक सम्बन्धको प्रतीक भएको उल्लेख गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमामार्फत सो कुरा उल्लेख गरेका हुन् ।

भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापाको सम्मान स्वरूप निर्माण गरिएको उक्त शालिकमा कास्य धातु प्रयोग गरिएको छ ।

सन् १८८९ डिसेम्बर १५ का दिन पाल्पा जिल्लामा जन्मिएका थापालाई १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका कारण भिक्टोरिया क्रस (भिसी) बाट सम्मान गरिएको थियो । उक्त शालिकमा पनि एक घाइते सैनिकलाई युद्ध मैदानमा बोक्दै गरेको दृश्य देखाइएको छ ।

प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ मा निधन भएको थियो । उनको सम्मान स्वरूप बेलायतमा सन् २०१५ मा उनको तस्विर अंकित हुलाक टिकट समेत प्रचलनमा ल्याइएको थियो ।