June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

‘विवाह र सम्बन्ध’ बारेको मलालाले दिएको अन्तर्वार्ताले पाकिस्तानमा हंगामा

380

काठमाडौं– नोबेल पुरस्कार विजेता मलाला युसुफजईको अधिकांशजसो भनाइ पाकिस्तानमा चर्चाको विषय बन्ने गरेको छ।

हालसालै एक पत्रिकामा प्रकाशन भएको अन्तर्वार्तापछि त पाकिस्तानमा यसले निकै चर्चा पाएको छ। वोग म्यागजिनका लागि दिएको एक अन्तर्वार्तामा ‘विवाह र सम्बन्ध’ बारेको मलालाको कुराकानीले यतिबेला पाकिस्तानमा समाजिक सञ्जालमा हंगामा मच्चाइदिएको छ।

मलाला बेलायती फेशन म्यागजिन वोगको जुलाई अंकमा कभर पेजमा छिन्। 

सामाजिक सञ्जाल प्रयोगकर्ताले विवाहका बारेमा मलालाको हिचकिचाहटका बारेमा चर्चा गरिरहेका बीबीसीले जनाएको छ।वोग म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘मैले कुरा बुझेको छैन किन मानिस विवाह गर्छन्। यदी तपाईलाई जीवनसाथी चाहिएको छ भने विवाहको कागजमा किन हस्ताक्षर गर्नुपर्‍यो, यो एक पार्टनरसिप किन हुन सक्दैन?’

मलालाको यो भनाइपछि सामाजिक सञ्जालमा निकै आलोचना भएको छ भने मानिसहरुले विवाहबारे उनको सोचमाथि विभिन्न विचार राखिरहेका छन्। धेरै जसोले उनले उठाएको विषयलाई धर्मसँग जोडेका छन्।

सामाजिक सञ्जालमा चर्को आलोचना भइसपछि मलालाको बुवाले छोरीको अन्तर्वार्तालाई तोडमोड गरेर प्रकाशन गरेको सामाजिक सञ्जालबाट प्रस्टिकरण नै दिएका छन्। 

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको भनाइलाई ‘गैर इस्लामिक’ भनेका छन् भने कतिपयले एक जटिल मुद्दामाथि आफ्नो मनको कुरा भनेको भन्दै मलालाको प्रशंसा गरिरहेका छन्। 

कतिपयले यस्तो व्यवस्थाबाट नाजायज फाइदा उठाउने बारे आफ्नो विचार राखिरहेका छन्।