May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

भारतको राजधानी दिल्लीमा अक्सिजनको हाहाकार : गयो २५ बिरामीको ज्यान

335

नयाँदिल्ली — दिल्लीको गंगाराम अस्पतालमा पर्याप्त अक्सिजन आपूर्ति नहुँदा गएको २४ घण्टामा पच्चीस सिकिस्त बिरामीको ज्यान गएको छ ।अस्पतालका मेडिकल डाइरेक्टरले सामाजिक सञ्जालमा दुई घण्टाका लागि अक्सिजन रहेको र ६० जना बिरामीको ज्यान खतरामा रहेको भन्दै ‘एसओसएस’ सन्देशमार्फत् सहयोगका लागि याचना गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसको केही घण्टामै अक्सिजनका ट्याकंरहरु अस्पताल पुगेका थिए । जसले गर्दा थप बिरामीको ज्यान जान पाएन ।

अस्पतालमा पाँच सयभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेको र त्यसमध्ये १४० जनाभन्दा बढीलाई अक्सिजन दिइएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्सिजन आपूर्तिपछि ठूलो खतरा टरेको भए पनि राति आपूर्ति भएको अक्सिजन धेरै समयका लागि नपुग्ने बताइएको छ ।

त्यसैगरी दिल्लीकै अर्को अस्पताल म्याक्सले पनि बिहीबार राति अक्सिजन केही घण्टाका लागि मात्र भएको भन्दै सहयोगका लागि आग्रह गरेको थियो । ‘सात सयभन्दा बढी बिरामी भर्ना छन् । एक घण्टाभन्दा कम समयलाई पुग्ने अक्सिजन छ । तत्काल सहयोग चाहियो । अक्सिजन सप्लाईका लागि पर्खिरहेका छौं । राति एक बजेदेखि पर्खिरहेका छौं,’ अस्पतालले बिहान आठ बजे ट्विटमार्फत् जारी गरेको एसओएसमा भनिएको छ ।

कोरोना महामारीको दोस्रा लहर सुरु भएसँगै भारतका दिल्लीलगायत राज्यहरुमा अक्सिजनको चरम अभाव भएको छ । अस्पताल पुगेका बिरामीले पनि समयमा अक्सिजन नपाउँदा ज्यान गुमाउनु परेको छ । दुई दिनअघि दिल्लीका प्रमुख अस्पतालहरुले सरकारलाई अक्सिजन आपूर्तिका लागि आदेश जारी गर्न भन्दै अदालतको ढोका ढकढकाएका थिए । त्यसपछि दिल्ली उच्च अदालतले सरकारले बिरामीको ज्यानसँग खेलबाड गरेको भन्दै तत्काल अक्सिजन आपूर्ति व्यवस्था गर्न भनेको थियो ।