May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

ब्राजिलमा गत २४ घन्टाभित्र कोरोनाका कारण साढे ३ हजारले ज्यान गुमाए

395

रियो डे जेनेरियो- ब्राजिलमा गएको २४ घण्टा यता कोभिड-१९ को सङ्क्रमणबाट करिब साढे तीन हजार नागरिकको मृत्यु भएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोभिड-१९ को सङ्क्रमणमा परेका यहाँका तीन हजार ४७२ जनाको एकै दिनमा ज्यान गएको हो।

यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८१ हजार ४७७ जना पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ। त्यसैगरी सोही अवधिमा थप करिब ८० हजार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि ब्राजिलमा हालसम्म एक करोड ४१ लाख २२ हजार जनाभन्दा बढीमा सङ्क्रमण भएको बताइएको छ।

हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड-१९ को भयानक तनाव खेप्‍नुपरेको समाचारमा जनाइएको छ। यस तनावका कारण यहाँका नागरिकमा जनस्वास्थ्यसम्बन्धी सुविधा पुर्‍याउन नै समस्या भएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ-नयाँ वेभहरु आइरहेका छन्। अस्पतालहरूले बिरामीको चाप थेग्‍न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन्।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ। साओ पाओलोमा मात्र ९० हजारभन्दा पनि बढी नागरिकको ज्यान गएको छ। त्यसैगरी सो राज्यमा करिब २८ लाख नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन्।