May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

इजिप्टमा रेल दुर्घटना, ९७ जना घाइते

280

कायराे- इजिप्टको राजधानी कायराेकाे उत्तरी भागमा रेल दुर्घटना हुँदा कम्तिमा ९७ जना घाइते भएका छन्।  दुर्घटनामा केही व्यक्तिले ज्यान गुमाएपनि संख्या खुल्न नसकेकाे स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

अलजजिराका अनुसार कायरोबाट नील डेल्टा शहर जाँदै गरेकाे रेल लिकबाट बाहिर जाँदा उक्त दुर्घटना भएकाे हाे। दुर्घटनाकाे खबर पाउनेबित्तिकै ५० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। घाइतेहरुलाई कलयुबिया प्रान्तको तीन अस्पतालमा भर्ना गरिएकाे छ।

प्रान्तीय गभर्नरको कार्यालयका अनुसार कम्तिमा आठ रेल लिकबाट छुटेर बाहिर पुगेकाे थियाे। सामाजिक सञ्जालमा आइरहेकाे  भिडियोहरूमा रेलकाे डब्बा पल्टिएकाे र यात्रुहरू सुरक्षा स्थानतर्फ भागिरहेकाे देख्न सकिन्छ।

स्थानीय अधिकारीहरुका अनुसार दुर्घटना के कारणले भयाे भन्ने खुलेकाे छैन। इजिप्टमा यसवर्ष रेल दुर्घटना बढेकाे छ।

गत मार्चमा कायाराेबाट  ४ सय किलोमिटर पर रहेकाे दक्षिण तहतामा दुई रेल आपसमा ठोक्किँदा कम्तिमा २० व्यक्तिको मृत्यु भएकाे थियाे भने २ सयभन्दा बढी घाइते भएका थिए। यसै हप्ता उत्तरी प्रान्त मिन्या अल-कम्हमा भएकाे रेल दुर्घटनामा १५ जना घाइते भएका थिए।

फेब्रुअरी २०१९ मा कायरोको मुख्य  रेलवे स्टेशन ‘लोकोमोटिव’मा आगलागी हुँदा कम्तिमा २५ व्यक्तिको मृत्यु भएकाे थियाे। त्यस दुर्घटनापछि तत्कालीन यातायात मन्त्रीले राजीनामा दिएका थिए।

इजिप्टको सबैभन्दा घातक रेल दुर्घटना २००२ मा भएको थियो। कायराेबाट दक्षिणी इजिप्ट जाँदै गरेको रात्रीकालीन रेलमा आगजनी हुँदा ३०० भन्दा बढीले ज्यान गुमाएका थिए।