काठमाडौँ – हाइटीका राष्ट्रपति जोभेनेल मोइसेले बुधबार विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
राष्ट्रपति मोइसेले प्रधानमन्त्री जोसेफ जौथे दिनु भएको राजीनामा स्वीकारपछि क्लाउडलाई नियुक्ति दिएका हुन्। मोइसे ट्विटरमार्फत अब सार्वजनिक सुरक्षाको स्पष्ट समस्यालाई सम्बोधन गर्न सम्भव हुने र देशको राजनीतिक र संस्थागत स्थायित्वका लागि आवश्यक सहमतिमा पुग्नको लागि छलफललाई जारी राख्ने बताएका छन्।
विशेषगरी हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा अपहरण र हत्या तथा अपराधका घटना बढिरहँदा आलोचना थेग्न नसकेर प्रधानमन्त्री जौथे जोसेफले राजीनामा दिएका हुन्।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले हाइटीमा भएका राजनैतिक र अन्य धेरै संकटबारे गहिरो चिन्ता व्यक्त गरेको छ। सरोकारवालाहरूलाई आफ्नो मतभिन्नतालाई हटाई सन् २०२१ मा स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय राष्ट्रपति चुनावको तयारी गर्न आग्रह समेत गरेको छ।
क्यारिबियन मुलुक लामो समयदेखि राजनीतिक गतिरोधमा फसेको छ। तर, विपक्षीले सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ। यद्यपी; विपक्षीलाई हटाई र दुई वर्षको संक्रमणकालीन सरकारको स्थापनाको माग गर्दै आएको छ।