एजेन्सी । संसारकै अर्बपतिहरु बस्ने सहरमा चिनियाँ राजधानी बेइजिङ पहिलो बनेको छ । अमेरिकाको न्युयोर्कलाई पछि पार्दै बेइजिङ संसारकै धेरै अर्बपतिहरु बस्ने सहरमा पहिलो बनेको हो ।
यो वर्षमा मात्र ३३ जना अर्बपति बेइजिङमा थपिएका छन् । फोर्ब्स म्यागजिनले प्रकाशित गरेको अर्बपतिको सूचिमा परेकामध्ये १ सय जना बेइजिङका बासिन्दा छन् ।
बेइजिङ पहिलो भएपछि अमेरिकाको न्युयोर्क धेरै अर्बपति बस्ने दोस्रो सहर भएको छ । न्युर्योकमा अहिले ९९ जना अर्बपति बस्छन् । योसँगै सात वर्ष यताको धेरै अर्बपति बस्ने पहिलो सहर रहेको न्युयोर्कको रेकर्ड ब्रेक भएको छ ।
तर, बेइजिङमा अर्बपति थपिएपनि न्युयोर्कका अर्बपतिसँग बेइजिङका अर्बपतिहरुसँग भन्दा ८० अर्ब डलर बढी सम्पति रहेको छ ।
चीनले कोरोना भाइरसमाथि गरेको प्रभावकारी नियन्त्रण, प्रविधिसम्बन्धी कम्पनीहरु बिस्तार र सेयर मार्केटमा भएको सुधारले चिनियाँ अर्बपति थपिएका जनाइएको छ ।
चीनभरि ६ सय ९८ जना अर्बपति छन् । अमेरिकामा ७ सय २४ जनाको सम्पति १ अर्ब डरलभन्दा बढी छ ।
फोर्ब्सको सूचिमा यो वर्ष ४ सय ९४ जना नयाँ अर्बपति थपिएका छन् । फोर्ब्सका अनुसार गत वर्ष हरेक १७ घण्टामा एक जना मानिस अर्बपति बनेका छन् ।
फोर्ब्सका अनुसार धेरै अर्बपति बस्ने मुलुकमा भारत तेस्रो स्थानमा छ । भारतमा १ सय ४० जना डलर अर्बपति छन् ।