April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

सेनाको गोली लागेर म्यानमारमा ४३ जनाभन्दा धेरै बालबालिकाको मृत्यु

225

काठमाडौं – म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि भएको हिंसात्मक प्रदर्शनका क्रममा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाएका छन् ।

फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएर सङ्कटकाल घोषणा गरेसँगै म्यानमारमा हिंसात्मक प्रदर्शन हुँदै आएको छ । त्यस्तै हिंसात्मक विरोधका क्रममा ४३ जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ ।

‘सैन्य कू’ विरुद्ध सडक प्रदर्शन गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आक्रमण गरिरहेको र त्यसको चपेटमा बालबालिका परिरहेको ‘सेभ द चिल्ड्रेन’को भनाइलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । यस्तै म्यानमारमा सेनाको गोली लागेर घाइते भएका बालबालिकाको संख्या पनि उल्लेख्य रहेको छ ।

१३ वर्षीय बालकलाई घरभित्रै गएर गोली हानेर हत्या गरेको, ९ महिनाकी बालिकालाई आँखामा गोली लागेको र बालबालिकाहरु त्रासैत्रासमा बाच्नुपरेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ । पछिल्लो घटनाक्रमले म्यानमार बालबालिकाका लागि सुरक्षित नरहेको यो संस्थाले निष्कर्ष निकालेको छ ।

नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा हरेक दिन प्रदर्शनहरु भइरहेका छन् ।