काठमाडौं- आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण(पश्चिममा ज्वालामुखी बिस्फोट भएको छ। आइसल्याण्डको मौसम विभागका अनुसार शुक्रबार रिकिन्स प्रायद्वीपको फाग्राडाल्स्फलमा ज्वालामुखी बिस्फोट भएको हो।
ज्वालामुखी बिस्फोट स्थानिय समयअनुसार बेलुका ८: ४५ बजेबाट सुरु भएको विभागले जनाएकाे छ। ज्वालामुखी बिस्फोट भएको स्थानमा विगत तीन हप्तामा ४ हजारभन्दा बढी भूकम्प गएको थियो। त्यहाँ अन्तिम बिस्फोटन लगभग ८ सय वर्ष पहिले भएको बताइएको छ।
सन् २०१० मा आइसल्याण्डमै भएको ज्वालामुखी बिस्फोटका कारण युरोपको हवाई ट्राफिक प्रभावित भएको थियो। तर, यसपटकको बिस्फोटमा खरानी र धुवाँ धेरै नउडेकाले उड्यानमा अवरोध नहुने अधिकारीहरुले बताएका छन्।
ज्वालामुखी बिस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटर पर पर्छ। सर्वेक्षणका लागि कोस्टगार्ड हेलिकप्टर पठाइएको बीबीसीले जनाएको छ।