काठमाडौं– विश्व बैंकले कोरोना खोप र महामारीको प्रतिकार्यका लागि नेपाललाई साढे ७ करोड अमेरिकी डलर (८ अर्ब ७० करोड रुपैयाँ) वित्तीय सहायता प्रदान गर्ने भएको छ।
विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको बैंकले जनाएको छ। नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी खोपहरुको समतामूलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास संघ (आइडा)मार्फत नेपालले उक्त ऋण सहायता प्राप्त गर्ने भएको हो।
यो वित्तीय सहयोगबाट नेपालले कम्तिमा एक तिहाइ जनसंख्यामा खोप पुर्याउन सक्ने विश्व बैंकले उल्लेख गरेको छ। ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्त्वकांक्षी योजनालाई सघाउन विश्व बैंकले यो सहायता प्रदान गर्न लागेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन्।
गत चैतमा २.९ करोड अमेरिकी डलर (३ अर्ब ३० करोड रुपैयाँ) बराबरको कोभिड १९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य तयारी मूल आयोजना तथा सरकारको समग्र कोभिड १९ प्रतिकार्यमा विकास साझेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर थप वित्त सहयोग गर्ने निर्णय भएको बैंकको भनाइ छ।
यो रकमको ९० प्रतिशत हिस्सा कोभिड १९ खाेप खरीद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्या बाहेक अन्य समूहमा खोप विस्तार गर्न प्रयोग हुने भएको छ। बाँकी रकम भने खोपका पहललाई सघाउन र कोभिड १९ सँग सम्बन्धित परीक्षण, उपकरण र चिकित्सासामग्री खरीद तथा आपूर्तिमा खर्च गरिनेछ।