November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकाको जर्जियामा आठ जनाको मृत्यु

2.4K

काठमाडौं- अमेरिकाको जर्जिया राज्यका विभिन्‍न तीन स्पामा मंगलबार गोली चल्दा कम्तीमा ६ जना एसियाली महिलासहित आठ जनाको मृत्यु भएको छ।

प्रहरीले एटलान्टा सहरस्थित अक्वर्थको एक मसाज पार्लरमा चार जना र सोही सहरका अन्य दुई स्पामा चार जना मारिएको जानकारी दिएको छ।

मारिएकामध्ये चार जना कोरियाली मुलका रहेको दक्षिण कोरियाले पुष्टि गरेको छ।

Advertisement

अधिकारीहरूका अनुसार तीनवटै घटनामा संलग्न रहेको आशंकामा २१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको छ। 

गोली कुन उद्देश्यले चलाइएको हो भन्‍ने खुल्न सकेको छैन। यद्यपि, पछिल्ला महिनाहरूमा एसियन-अमेरिकनहरूविरुद्ध घृणित अपराधका घटनाहरू बढेका छन्। एसियाली मुलका नागरिकलाई कोभिड-१९ (कोरोना भाइरस) फैलाएको आरोपमा यस्ता घटना हुँदै आएका छन्।

गएको हप्ता एक सम्बोधनका क्रममा राष्ट्रपति जो बाइडेनले एसियाली-अमेरिकीहरूविरुद्ध हमला गर्ने, उत्पीडन गर्ने, दोषी ठहर्‍याउने र विरोधका अपराध गर्ने घृणित अपराधहरूको निन्दा गरेका थिए।

मंगलबार स्थानीय समयअनुसार करिब साँझ ५ बजे अक्वर्थको एसियन मसाज पार्लरमा पहिलो गोली चलेको थियो।

शेरिफको कार्यालयका प्रवक्ता क्याप्टेन जय बेकरले दुई जनाको घटनास्थलमै मृत्यु भएको र तीन जनालाई अस्पताल लगिएकोमा थप दुई जनाको मृत्यु भएको बताए।