November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

माघ पहिलो सातादेखि बुस्टर डोज खोप दिइने

4.2K

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज (तेस्रो) मात्रा खोप दिइने भएको छ ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले माघको पहिलो हप्ताबाट चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त मात्राको खोप लगाउने जानकारी दिएका हुन् ।

उनका अनुसार सम्भावित कोरोनाभाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना भाइरसविरुद्धको थप एक मात्रा दिइने भएको हो । नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये कोभिड–१९ संक्रमण ८ दशमलव ४९ प्रतिशतमा देखिएको छ । शुक्रबार १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा संक्र्रमण देखिएको थियो ।

Advertisement

कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले बुस्टर मात्रा खोप दिइन थालेको हो । यसअघि गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई बुस्टर मात्रा खोप दिन सुरु गरिएको थियो । तर, पहिलो दिनमै अभियान स्थगित गरिएको थियो ।

मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको हो । मन्त्रालयले राष्ट्रिय खोप अभियान दु्रत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ । अहिले सरकारसँग एक करोड दुई लाख मात्रा खोप रहेको छ ।