December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

कोभिड संक्रमितहरूलाई सहयोग गर्दागर्दै आफै संक्रमित बन्न पुगेँ- टंकमाया तिगेला लिम्बु

2K

टंकमाया तिगेला लिम्बुले स्वास्थ्य शिक्षाबाट स्तातकोत्तर गरेकी छन् । हाल म्याङ्लुङ क्याम्पस तेह्रथुममा अध्यापन गरिरहेकी उनी महिला मानव अधिकार रक्षक सञ्जालको अध्यक्ष पनि हुन् । मेयङ्लुङस्थित मिमांशा क्याफेको प्रोपाइटर समेत रहेकी उनी कोभिड संक्रमितहरूलाई सहयोग गर्दागर्दै आफू पनि संक्रमित बन्न पुगिन् । कोभिडलाई परास्त गर्न सफल उनको कोभिडबारे अनुभव यहाँ प्रस्तुत गरिएको छ ।

+++
नेपालमा कोभिड–१९ प्रवेश भएको थिएन । नेपाल ग्रिन जोनमा थियो । म कोभिडबारे अन्तराष्ट्रिय समाचारहरू पढ्ने/हेर्ने गर्थें । ती समाचारहरू हेरेपछि कोभिडले गाह्रो पार्नेरैछ जस्तो लागेको थियो । त्यतिबेला नेपालीहरूको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता दह्रो हुन्छ, कोरोना लाग्दैन भन्ने अफवाह फैलियो । मलाई पनि केहिहदसम्म लाग्दैन कि भन्ने लागे तापनि म आफै स्वास्थ्य विषयको शिक्षक भएको हुँदा कोभिड–१९ यी अफवाहजस्तो सामान्य पक्कै हैन भन्ने लागेको थियो । डर भने लागेको थिएन ।

जब नेपालमा कोभिडको दोस्रो भेरियन्ट सुरु भयो । मान्छेहरू बिरामी हुन थाले, मृत्यु हुन थाल्यो । कोभिड आफ्नो वरिपरि आइपुग्यो । बेड, अक्सिजन, भेन्डिलेटरको कमी भएको समाचारहरू आउन थाले । त्यसपछि भने अब साच्चै नै नेपालीहरूले थेग्न नसकिने रैछ भन्ने लाग्न थाल्यो । अरूलाई हेलचेक्र्याइँ नगर्न सुझाउन थालेँ । संक्रमितहरूलाई अस्पताल जाउ भन्न थालेँ । आफूले सकेको सहयोग गर्न थालेँ । अरूलाई सहयोग गर्दागर्दै म पनि संक्रमित भएछु ।

Advertisement

सुरुमा त मलाई ज्वरो आयो । कोभिडविरुद्धको भेरोसिल भ्याक्सिन भर्खरै लगाएकोले गर्दा भ्यक्सिनको कारण ज्वरो आएको होला भन्ने लाग्यो । ३/४ दिनसम्म ज्वरो आइरह्यो । ज्वरो नघटेपछि पिसिआर टेस्ट गरेँ । रिपोर्ट पोजेटिभ आयो । ३/४ दिनपछि भने खोकी सुरु भयो । खोकी सुरु भएको ३ दिनपछि मेरो खकारमा रगत आउन थाल्यो । त्यसपछि भने प्राइभेट क्लिनिकमा सामान्य उपचार गराएँ । निमोनिया सुरु भएको रहेछ । जिउ दुख्ने, स्वाद हराउने जस्ता लक्षण भने ममा देखिएन । सुरुसुरुमा त्यसैले पनि म दोधार थिएँ । भाइरल ज्वरो हो कि ? भन्ने लागेर पनि उपचार गर्न ढिलाई गरेँ ।

करिब ८/९ दिनपछि म धरानस्थित घोपा क्याम्पमा भर्ना भएँ । मेरो उपचार सुरु भयो तर अक्सिजन तह घटी नै रह्यो । अक्सिजन वाइपासमा राख्नुपर्ने अवस्था आयो । अक्सिजन वाइपासका लागि घोपा क्याम्पमा सिट पूरा भैसकेको रैछ । डाक्टरले विकल्प खोज्न भन्नुभएछ, त्यसपछि विराटनगरको विराट मेडिकल कलेजमाजाने कुरा भयो । सुरुमा त त्यहाँ पनि खाली छैन भन्ने कुरा आयो । मैले माध्यमिक शिक्षासम्म पढेको स्कुलका शिक्षक भीम बस्नेत त्यहाँको व्यवस्थापन टिममा हुनुहुँदोरैछ, वहाँ लगायतको सहयोगमा म भर्ना भएँ । त्यहाँ आइसियुमा २ दिन २ रात बसेँ । त्यसबीचमा काठमाडौको लागि जाने तयारी भयो ।

सांसद (अहिले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हुनुभएका) भवानी खापुङलगायतको सहयोगमा मलाई हेलिकोप्टरमार्फत काठमाडौको एपीएफ अस्पताल पु¥याइयो । मेरो स्वास्थ्यको अवस्था यस्तो थियो कि आधाघन्टा बसको यात्रा गरेको भए यसै भन्न सकिन्न थियो । अक्सिजनको मात्रा घटेको घटेकै थियो ।

एपीएफमा भर्ना भएको ३ दिनपछि मेरो स्वास्थ्यमा बिस्तारै सुधार आउदै गयो । बिरामी रिकभर हुनु या नहुनुमा भौगोलिक हावापनी , अस्पतालको वातावरण, डाक्टर, नर्सहरूको व्यवहारले पनि फरक पार्ने रहेछ कि के हो ! काठमाडौ एपीएफ अस्पतालमा भर्ना भएपछि मैले शान्त, सितल, आनन्द महसुस गरेँ । कति प्रतिशत त त्यसै ठीक भएँ जस्तै लाग्ने । कोभिडको बिरामी, धरान, विराटनगरको त्यो हपहपी गर्मी, गटङ्टङ् बजिरहेको पंखाको आवाज त्यसमाथि मुखमा अक्सिजन माक्स, माक्सबाट खलखली पसिना बगिरहेको ! यति सकस र दिक्क हुने कि अहो ! त्यसमाथि धरानको घोपा क्याम्प र विराटनगरको विराट अस्पतालमा बिरामीसँग कुरुवा बस्न नदिने रहेछ । एक्लै हुँदा खानेकुरा खान नसकिने, साइकोलोजिकल सपोर्ट पनि नहुने, कुनबेला के हुन्छ एकजना सहयोगी त हुनुपर्छ तर एक्लै भइने जसले गर्दा बिरामीलाई अझैँ गाह्रो हुँदो रहेछ । एपीएफमा भने एकजना कुरुवा बस्न दिनेरैछ जसले गर्दा ढुक्क पनि भएँ ।

म नआत्तिने मान्छे । पिसिआर रिपोर्ट पोजेटिभ आउँदा आत्तिनँ । हुन त कोभिडले त्यो तहको बिरामी बनाउँछ भन्ने सोचेको थिइनँ, जति भयो । म बलियो छु, पचाउन सक्छु भन्ने लाग्थ्यो । त्यसो त अक्सिजनमा बसिरहँदा पनि म निको हुन्छु भन्ने नै लाग्थ्यो । त्यतिबेला मेरो फोक्सोले काम गरिरहेको छैन भन्ने थाहा थियो । तैपनि डराइनँ । मैले जसरी खाना खानुपर्छ भन्ने लाग्थ्यो, र जबरजस्ती खान्थेँ । त्यसो त एकपटक यस्तो लाग्यो कि मेरो शरीर अरूलाई जिम्मा लगाएको छु । यदि सबैको प्रार्थना र आर्थिक सबै कुरा पुगेमा म निको हुनेछु । फेरि पनि मरिहाल्छु भन्ने चाहिँ लागेन । आफूमाथि भरोषा राखेँ । बरु आफ्नो भन्दा पनि परिवारका अरू सदस्यलाई सारेको छु कि भन्ने चिन्ता लागिरह्यो । उनिहरूलाई पनि मलाई जस्तै गाह्रो पारे कसले सहयोग गर्छ भन्ने लाग्न थाल्यो । भरपुर सेवासुविधा भएको अस्पतालमा उपचार गराइरहँदा दुर्गम जिल्ला अस्पताललाई पनि सम्झिन पुगेँ । यहाँको डाक्टरहरूको कार्यदक्षता, स्वास्थ्य सुरक्षा, औषधी र प्रविधिको सुविधा अनि जिल्ला अस्पतालको । त्यहाँको डाक्टर, नर्सहरू कति सुरक्षित छन् ? बिरामीले केकस्तो उपचार पाइरहेका छन् भन्नेबारे सोचमग्न भएँ ।

कोभिड पनि धेरै किसिमका देखिए । यसलाई बुझ्नै नसकिने रैछ । कोही हल्का सङ्क्रमित हुन्छन् र ठीक भइहाल्छन् । कति घरैमा ठीक हुन्छन्, कति अस्पताल भर्ना हुनैपर्छ, कतिको मृत्यु हुन्छ । । कुनले कतिबेला कहाँ पु¥याएर रोकिदिने हो टुङ्गै नहुने रैछ । यसबारे डाक्टरलाई सोध्दा मलाई भएको कोभिड डढेलो लागेजस्तै हो भन्नुभयो । यसले फोक्सोमा आक्रमण गरेपछि डढेलो लागेजस्तै जानेरैछ । फोक्सोभित्र ब्लड जम्मा हुने र कसिलो हुने रैछ । संक्रमितले तत्कालै आवश्यक उपचार नपाए संक्रमितको मृत्यु नै हुनेरैछ । मेरो आफ्नै अनुभवमा पनि । यस्तो किसिमको संक्रमण नेपालको दुरदराजका गाउँघरका मान्छेहरूलाई भएमा उपचार प्राप्त गर्न गाह्रो हुनेरहेछ । यस विषयमा सरकारको ध्यान जान जरुरी छ ।

धेरैजसो तराईमा उपचारारत सिकिस्त बिरामीहरूको मृत्यु भयो । त्यहाँका अस्पतालहरूमा सिकिस्त अवस्थामा रहेका बिरामीहरूमध्ये काठमाडौ लगिएकाहरू निको भए । भौगोलिक हावापानीको कुरा त अघि पनि गरेँ । डाक्टरहरूमा प्रोपर स्किल, बिरामीलाई हेर्ने समयलगायत धेरै कुरामा भिन्नता पाएँ । ३ दिनको बसाइमा धरानको घोपा क्याम्पमा मेरो डाक्टरसँग एकपटक पनि भेट भएन । विराट अस्पतालमा १ दिन आएका थिए । तर काठमाडौमा दिनै डाक्टर आउने, राम्रो व्यावहार गर्ने, बिरामीको अवस्था बुझ्ने, कम्तिमा १५ मिनेट बिरामीसँग समय बिताउने स्वास्थ्य अवस्थाबारे बुझ्ने गर्थे । अन्य समयमा पनि बिरामीलाई केही भए कल गरे तुरुन्तै आउने रहेछन् । जसले गर्दा कुन–कुन औषधी प्रयोग भए ? बाँकी कुन औषधी चलाउने भन्ने थाहा हुनेरैछ । त्यसैले पनि उपचार प्रभावकारी हुन्छ, बिरामीलाई पनि हौसला मिल्छ ।

कोभिड–१९ को संक्रमण र अस्पतालको लामो बसाईले मलाई कोभिड संक्रमितको नजिक जादैमा कोभिड सर्दैन भन्ने बुझ्न मद्दत ग¥यो । यो कुरा सबैलाई बुझाउनुपर्ने देखेँ । मेरो श्रीमान् र म २५ दिन अस्पतालमा सँगै बस्यौं, मेरो कारणले वहाँ संक्रमित हुनुभएन । पछि जनरलमा सारेपछि एकजना बिरामी थियो माक्स नलगाई जतातै छुदै हिड्थ्यो । उसको सहयोगी कोही थिएनन् । उसलाई मेरो श्रिमानले सहयोग गर्नुभयो । त्यसपछि भने वहाँमा पनि कोभिड पोजेटिभ देखियो तर गाह्रो भने पारेन । १० दिन आइसोलेट हुनुभयो त्यति नै ।

एपीएफ अस्पतालमा कोभिडको उपचार खर्च लगभग लाग्दैन । खानेकुरा पनि निशुःल्क, पोषणतत्व मिलाएर खानेकुरा दिन्छन् । त्यहाँ किन्नुपर्ने भनेको अस्पतालभित्र नपाइने इन्जेक्शन र औषधीहरू मात्रै हो । बाँकी सबै निशुःल्क । नेपाल सरकारले सबै अस्पतालमा यस किमिसको व्यावस्था गरे सबैले बाँच्ने सम्भावना हुन्छ । काठमाडौंको वीर अस्पताल, पाटन अस्पताल लगायत केहि सरकारी अस्पतालहरुमा सरकारले यस्तो सुविधा प्रदान गर्दै आइरहेको छ । धरानस्थित घोपा क्याम्पमा पनि निशुःल्क भनिए तापनि सबै औषधी किन्नुपर्छ । परीक्षण मात्रै निशुःल्क हो । अझ विराट मेडिकलमा त स्टाफको ग्लोब्स्देखि स्टाफ चार्जसम्म तिर्नुपर्ने रैछ । अक्सिजन वाइपासको लागि चाहिने पाइपमात्रै १० हजार पर्दोरहेछ । त्यसो त प्राइभेट अस्पतालमा प्रायः सबैतिर यस्तै होला ।

बिरामी या कुरुवामा थोरै स्वास्थ्य चेतना र सामान्य अंग्रेजी भाषाको ज्ञान पनि हुनुपर्ने रहेछ कि जस्तो लाग्यो । बिरामीले आफ्नो अवस्था बताउन सक्नुपर्छ कि त कुरुवाले । मैले हेर्दाहेर्दै बिरामीको अक्सिजन सकिसक्यो तर कुरुवाले खानुपर्छ भन्दै खानेकुरा खुवाएको खुवाएकै गरेको पनि देखेँ । कमसेकम अक्सिजन घटेको बढेकोसम्म हेर्न सक्नुपर्ने रैछ । कतिपय अक्सिजन माक्स लगाउन नमान्ने, खाना खान नमान्ने गर्नुहुन्थ्यो । म आफै बिरामी भएपनि त्यस्तो अवस्थामा सम्झाउने गर्थेँ ।

अहिले म अस्पतालबाट डिस्चार्च भएको एक महिना कट्यो तर अझैँ कमजोर महसुस हुन्छ । बाहिर त्यति निस्केको छुइनँ । पहिलाको अवस्थामा तागत आएको छैन । फोक्सोले अझैं पनि ५० प्रतिशत मात्रै काम गरिरहेको जस्तो भान हुन्छ । ३ महिनाको औषधी दिएको छ त्यसपछि फलोअपमा जानु छ । काम सुरु गरेको छुइनँ । काम गर्ने आँटै आएको छैन ।

भाइरल सरुवा रोगहरूको अन्तिम उपाय भनेको खोप नै हो । खोपले मात्रै यसको कन्ट्रोल गर्न सक्छ । सुरुको अवस्थामा छ, ट्रायल फेजमै होला तैपनि खोप अनिवार्य छ । अफवाहमा नअल्झी खोजीखोजी खोप लगाउन सम्पूर्णमा मेरो आग्रह छ ।

प्रस्तुतिः सीता तुम्खेवा