November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दाङका चार ठाउँमा अक्सिजन उत्पादन, अस्पतालमा छैन अभाव

2.8K

दाङ : कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएको दाङमा अहिले चारवटा अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि पर्याप्त भएको छ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा रहेको  राप्ती प्रादेशिक अस्पताल, घोराहीमा रहेको दाङ अक्सिजन उद्योग र तुलसीपुरको दुधरासमा रहेको सोनापुर सिमेन्ट एण्ड मिनरल्सले अक्सिजन उत्पादन सुरु गरेको छ। अहिले दैनिक एक हजारभन्दन बढी अक्सिजन सिलिन्डर उत्पादन भइरहेको छ। 

प्रतिष्ठानमा दैनिक ३००, दाङ अक्सिजन उद्योगमा १७०, राप्ती प्रादेशिक अस्पतालमा १०० र सिमेन्ट उद्योगमा ५०० सिलिन्डर अक्सिजन उत्पादन भइरहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। अहिले दाङ अक्सिजनमा आत्मनिर्भर भएको उनको भनाइ छ। यहाँ उत्पादन भएको अक्सिजन  छिमेकी पहाडी जिल्ला र आवश्यकता अनुसार तराईका जिल्लाहरूमा पनि सप्लाई गर्न सकिने कुरुम्बाङको भनाइ छ। 

Advertisement

संघीय र प्रदेश सरकारको सक्रियता दुई अस्पतालमा र स्थानीय सरकार र निजी क्षेत्रको सक्रियतामा पनि अक्सिजन प्लान्ट सञ्चालनमा आएको प्रजिअ कुरुम्बाङले बताए। दाङमा सामान्य अवस्थामा दैनिक २०० सिलिन्डर अक्सिजन ग्यास खपत हुने गर्दछ। तर, दोस्रो लहरको कोरोना महामारीमा दैनिक एक हजार सिलिन्डर खपत भएको थियो।