काठमाडौँ । ज्वरो आएपछि एक युवा टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा जाँच गर्न आए । उनले ज्वरोसँगै ढाडमा कालो पाप्रो देखिएको पनि चिकित्सकलाई बताए । चिकित्सकले प्रयोगशालामा परीक्षणका लागि पठाउँदा ती युवामा ‘स्क्रब टाइफस’ भएको प्रमाणित भयो ।
पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिमसँगै निपाह भाइरस र स्क्रब टाइफसका बिरामी पनि देखिन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका वर्षमा पनि यो समयमा प्रकोपकै रूपमा स्क्रब टाइफस देखिएको थियो ।
कोरोना महामारीका कारण स्क्रब टाइफसका बिरामी ओझेलमा पर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना सङ्क्रमणको लक्षण र स्क्रब टाइफसको लक्षण एकैखालको हुने भएकाले बिरामी अन्योलमा पर्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
स्क्रब टाइफस रोगका बिरामी नेपालमा विगत ८ वर्षअघि मात्रै प्रमाणित भएको हो । डा.पुनका अनुसार स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो । ओरिनसिया सुसुगामुसी नामक जीवाणुका कारण स्क्रब टाइफस हुन्छ ।
मुसाको रगत चुसेर बाँच्ने सूक्ष्म किरा ‘माइट’ परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्ने उनी बताउँछन् । नेपालमा २०७२ वैशाखको विनाशकारी भूकम्पपछि यो रोग देखिन थालेको हो ।
सन् २०१९ मा आठ महिनाको अवधिमा ५५५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको थियो भने ३ जनाको मृत्यु भएको थियो ।
अघिल्ला तीन वर्षमा स्क्रब टाइफसका कारण १६ जनाको मृत्यु भएको थियो । हाल देशका विभिन्न भागमा स्क्रब टाइफसका बिरामी देखिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
स्क्रब टाइफसका लक्षण
–स्क्रब टाइफसका बिरामीलाई उच्च ज्वरो आउने ।
–श्वास—प्रश्वासमा समस्या हुने ।
–रुघा लाग्ने ।
–बढी मात्रामा टाउको दुख्ने ।
–शरीर दुख्ने ।
–शरीरमा चिट–चिट पसिना आउने ।
–आँखा हल्का रातो हुने ।
–शरीरका विभिन्न भागहरूमा सानो रातो बिमिरा आएर सुकेपछि कालो दाग वा कालो पाप्रो बस्ने ।
–कान बजेको आवाज आउने ।
–पखाला लाग्ने ।
‘माइट’ परजीवीले टोकेको पाँचदेखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिने गर्छ ।
स्क्रब टाइफसबाट कसरी बच्ने?
–खेतबारीमा काम गर्न जाँदा, घर वरिपरिका झाडी सफा गर्दा, मुसाको वासस्थान नजिकै काम गर्दा सावधानी अपनाउनु पर्छ ।
–खेतबारीमा काम गर्दा हातखुट्टा ढाक्ने लामो बाहुले कपडा लगाउनुपर्छ ।
–वनजंगल, झाडीमा घाँस–दाउरा काट्न जाँदा शरीर ढाक्ने कपडासँगै सम्भव भए बुट लगाउने ।
–चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने ।
–मुसाको वासस्थान भए नजिकै तथा खुला चौरमा सकेसम्म नसुत्ने ।
–सम्भव भएसम्म भुईँमा नबस्ने ।
–खाटमा वा अग्लो स्थानमा सुत्ने वा बस्ने गर्नुपर्छ ।
–घरभित्र अन्न भण्डारण गर्दा मुसा नियन्त्रणका लागि उपयुक्त ढङ्गले व्यवस्था गर्ने ।