July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

आरआरएनद्वारा सङ्खुवासभाका आइसोलेसनलाई विभिन्न सामग्री सहयोग

135

किमाथाङ्‍का- नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन)ले सङ्खुवासभाका आइसोलेसन केन्द्रहरुलाई विभिन्न सामग्री सहयोग हस्तान्तरण गरेको छ।

शनिबार तुम्लिङ्टारमा एक कार्यक्रमबीच पूर्वराजदूत अर्जुन कार्कीले जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र कोभिड-१९ सङ्‍कट व्यवस्थापन समिति (डीसीसीएमसी) समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई विभिन्न सामग्री हस्तान्तरण गरेका हुन्।

संयुक्त राज्य अमेरिकाका लागि नेपालका पूर्वराजदूत कार्कीको विशेष पहलमा यूएनडीपी कार्यक्रमअन्तर्गत आरआरएनले उक्त सामग्री उपलब्ध गराएको हो। विश्वभर कोरोना भाइरसको महामारी फैलिइरहेको समयमा सङ्खुवासभामा कोरोना नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्खुवासभा जिल्ला अस्पतालद्वारा सञ्चालित मानेभञ्ज्याङ, तुम्लिङ्टार आइसोलेसन र चैनपुर आइसोलेसनका लागि ती सामग्री हस्तान्तरण गरिएको हो।

उक्त संस्थाले चैनपुर र मकालु गाउँपालिकाका लागि एक/एक थान जेनेरेटर हस्तान्तरण गरेको थियो। त्यसैगरी अन्य सामग्री पल्स अक्सीमिटर १०० थान, पीपीई १०० थान, एन-९५ मास्क एक हजार थान, ब्ल्याङ्‍केट १५० थानलगायत १० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो। ती सामग्री जिल्ला अस्पताल र डीसीसीएमसी समितिले जिल्लामा सञ्चालित आइसोलेसन र होम आइसोलेसनमा बसिरहेकालाई लक्षित वितरण गर्नसमेत संस्थाले अनुरोध गरेको छ।

पूर्वराजदुत कार्कीको पहलमा सङ्खुवासभामा विभिन्न प्रकारका सहयोग प्राप्त भएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाक्यले धन्यवाद दिए।