April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउने

1.9K

काठमाडाैं । संयुक्त राज्य अमेरिकाले नेपालसहित कोरोना महामारीसँग जुधिरहेका १६ एसियाली मुलुकलाई कोभिड-१९ खोप उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकाले नेपालसहित एसियन मुलुकहरूलाई कोरोना खोप उपलब्ध गराउने जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले दिएका छन्।

यद्यपि, नेपालले प्राप्त गर्ने खोपको परिमाण अमेरिकाले आधिकारिक रूपमा भने केही समयमै टुंगो लाग्ने जनाइएको छ। यसअघि यही शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप दिन आग्रह गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले भारत, चीन, बेलायत, अमेरिका र रसियाका राष्ट्र प्रमुखसँग खोप उपलब्ध गराइदिन भन्दै पत्र पठाएकी थिइन्।

Advertisement

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहायता उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गरेका छन्। उनले यसका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिएका छन्।

यो घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने समेत प्रधानमन्त्रीले ट्वीटमार्फत व्यक्त गरेका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि खोप सहायताको घोषणाप्रति अमेरिकी समकक्षी एन्थोनी ब्लिंकेनलाई धन्यवाद दिएका छन्।