April 19, 2026, Sunday
२०८३ बैशाख ७
1:37:26 pm

सरकारले भन्यो : सबै स्वास्थ्य संस्थाले सेवा शुल्क सार्वजनिक गर्नू

2.5K

काठमाडाैं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्रमा सेवा र शुल्क सार्वजनिक गर्न भनेको छ।

कोरोना सङ्क्रमणको विषम परिस्थितिमा कतिपय स्वास्थ्य संस्थाहरूले बिरामीको उपचार बापत चर्को शुल्क असुल उपर गरेको, अक्सिजनको मूल्य अत्यधिक लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामी माथि थप आर्थिक भार पारेको, बिरामीलाई नै उपचार सामग्रीको बन्दोबस्त गर्न लगाएको लगायत गुनासा आएपछि सेवा शुल्क सार्वजनिक गर्न भनिएको मन्त्रालयको गुणस्तर, मापन तथा नियमन महाशाखाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘विभिन्न गुनासाहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकार मार्फत र कतिपय गुनासाहरू पत्रपत्रिका मार्फत एवं कतिपय गुनासाहरू सोझै यस मन्त्रालयमा प्राप्त हुन आएकोले सो सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

Advertisement

महाशाखा प्रमुख डा मदन कुमार उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूले सात दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूची अनिवार्य रूपमा सार्वजनिक गर्ने।’

उक्त मूल्य सूची सञ्चालक समिति,बोर्ड,आधिकारिक निकायबाट निर्णय गराई आ–आफ्नो वेब साइट मार्फत सार्वजनिक गर्ने, सूचना पाटीमा सबैले देख्ने गरी राख्ने र त्यसको जानकारी स्वास्थ्य सञ्चालन इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन पनि अनुरोध गरिएको छ।