April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

नेपालमा नयाँ प्रकारको कोरोना ‘भेरियन्ट’ पुष्टि, संक्रमित थपिनेमा भारत संसारकै पहिलो

185

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या दिनदिनै बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा करिब ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भारतीय मिडियाले उल्लेख गरेको छ । समाचारमा जनाइए अनुसार छिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका हुन् ।

भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार दुई दिन पाँच सयभन्दा बढी पुगेको छ । यसअघि गत शुक्रबार ७१३ जनाको ज्यान गएको थियो ।

भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन् ।

संसारकै पहिलो देश
यति धेरै संक्रमित उक्त दिन अरू देशमा भेटिएका थिएनन्। त्यो दिन अमेरिकामा ७० हजार र ब्राजिलमा ६९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको थियो। यसअघि गत अक्टुबरमा भारतमा दिनहुँ संसारकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिन्थे।

संक्रमित थपिएसँगै भारतमा मृतकको दैनिक संख्या पनि उकालो लागेको छ। शनिबार भारतमा कोरोना संक्रमणबाट ५ सय १४ जनाको मृत्यु भएको छ। यो संख्या गत डिसेम्बर ४ यता सबैभन्दा धेरै हो। भारतका महाराष्ट्र, छत्तीसगढ, मध्यप्रदेश, गुजरात, तमिलनाडुलगायत राज्यहरूमा संक्रमण तीव्र रूपमा फैलिरहेको समाचारमा जनाइएको छ ।

भारतबाट आएकामा नयाँ ‘भेरिएन्ट’
भारतबाट आएका तीन जनामा कोरोना भाइरसको नयाँ ‘भेरिएन्ट’ संक्रमण देखिएको छ ।

सुदूरपश्चिमको कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखाएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय यो फरक किसिमको कोरोना संक्रमण देखापरेको हो । भारतमा अहिले चार किसिमको कोरोना देखिएको छ । उनले भने, ‘अहिलेको भन्दा फरक कोरोना पुष्टि भएको छ । तर कुन प्रकारको हो भन्ने थाहा भइसकेको छैन ।’

उनका अनुसार केही दिनअगाडि कैलालीको त्रिनगर नाका भएर भारतबाट आएका २० जनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरूमा देखापरेको कोरोना संक्रमण कुन भेरिएन्ट हो भनी परीक्षण गर्न स्वाब काठमाडौं पठाइएको थियो । संक्रमित अहिले होम आइसोलेसनमा बसेका छन् ।

संक्रमितमध्ये दुई जना भारतको पन्जाब र एक जना सुरतबाट आएका हुन् ।
पछिल्लो केही समययता भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पनि बढ्दो छ ।