July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा

465

काठमाडाैं: सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो ।

कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । उहाँले भन्नुभयो, “त्यसमा रेल चालक, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायत रहनेछन् ।” भारतसँगको सम्झौताको विषय आजको मन्त्रिपरिषद्को बैठकमा छलफल हुने बताइएको छ । आज नै प्रमाणित सञ्चालन कार्यप्रणाली (स्टाण्डर्ड ओपरेटिङ प्रोसिडर) पनि बैठकमा छलफल हुनेछ ।

भारतसँग उताबाट ल्याइने जनशक्ति र आवश्यक सामग्री ल्याउने विषयमा समेत छलफल हुने उहाँले बताउनुभयो । कम्पनीसँग खरीद गर्ने सामग्री र जनशक्तिका विषमा कुराकानी भइसकेको छ । उताबाट टोलीले स्थलगत भ्रमणसमेत गरेको थियो । उहाँले भन्नुभयो, “यताबाट पत्र दिनासाथ उताको टोली तयारी अवस्थामा छ ।”