काठमाडौं – तीन गुन्डा नाइकेहरू गणेश लामा, चक्रे मिलन भन्ने मिलन गुरुङ र पर्शुराम भन्ने कृष्ण बस्नेतको मुद्दा सर्वोच्च अदालतमा पेशीमा चढेको छ। गैरकानूनी गतिविधिबाट आर्थिक लाभ लिई सम्पत्ति शुद्धीकरण कानून विपरीतको सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दा सर्वोच्च पुगेको हो।
विशेष अदालतले सफाई दिएपछि त्यसविरुद्ध सरकार सर्वोच्चमा पुगेको थियो। विशेषले पाँच जना मध्ये गणेश लामालाई मात्र दोषी ठहर गर्दै अन्यलाई सफाइ दिएको थियो।
गणेश लामा
लामा विशेष अदालतबाट दोषी ठहर भएका एकमात्र प्रतिवादी हुन्। एकैपटक मुद्दा दायर भएका अन्य चार आरोपितले सफाइ पाउँदा लामा भने दोषी ठहर भए। यसरी विशेषले अन्यलाई सफाइ दिँदा आफूलाई दोषी ठहर गरेपछि उनी उक्त फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए। त्यस्तै, सरकारी पक्ष पनि विशेष फैसला विरुद्ध सर्वोच्च पुगेको छ। नेपाली कांग्रेसका नेतासमेत रहेका लामा र सरकारले हालेको पुनरावेदन सर्वोच्च अदालतले २०७६ पुस २२ गते फाइल मगाउने आदेश गर्दै मुद्दा सुरु गरेको थियो।
लामाले विशेषको फैसलालाई चुनौती दिँदै २०७५ कात्तिक ९ गते पुनरावेदन दर्ता गरेका थिए। लामाले मुद्दा दर्ता गरेको दुई महिनापछि सरकारी पक्षले पनि विशेषको अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता गरेको थियो। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले फाइल मगाउने आदेश गरेको थियो।
पर्शुराम बस्नेत
अर्का गुन्डा नाइके पर्शुराम बस्नेतको मुद्दा पनि पेशीमा चढेको छ। विशेषले उनलाई सफाइ दिने फैसला सुनाएको थियो। बस्नेतसँग विभागले ११ करोड बराबरको सम्पत्ति रहेको दाबी गरेको थियो। बस्नेतले श्रीमतीसँगै सहयोगी मुकेश बस्नेतको नाममा गुन्डागर्दीबाट आर्जन गरेको सम्पत्ति लुकाएको दाबी विभागको थियो।
मोरङमा ४२ रोपनी जग्गा, ३ वटा गाडी, एडजोन एडभर्टाइजिङ, पिआर हार्डवेयर, बंगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवालगायतमा लगानी गरेको विभागको आरोपपत्रमा दाबी गरिएको थियो। दोस्रो सुनुवाइका लागि बस्नेतको मुद्दा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी रहेको छ।
विशेष अदालतले उनको सम्पत्ति शुद्धीकरण ऐन आउनुअघि आर्जन गरेको भन्दै सफाइ दिएको थियो। विशेषले बस्नेतलाई २०७४ चैत २५ गते सफाइ दिने फैसला सुनाएको थियो। न्यायाधीशहरू बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई सफाइ दिएको थियो।
चक्रे मिलन
अवैध असुलीबाट सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण मुद्दा लागेका गुन्डा नाइके चक्रे मिलन अर्थात मिलन गुरुङले पनि विशेष अदालतवाट सफाइ पाएका थिए। लगत्तै सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको थियो। विशेषको फैसला त्रुटीपूर्ण रहेको भन्दै सरकारी पक्षले २०७५ जेठ ३० गते सर्वोच्चमा पुनरावेदन दायर गरेको थियो। उक्त निवदनमा सुनुवाइ गर्दै असार ३ गते सर्वोच्च अदालतले विपक्षी झिकाउने आदेश गरेको थियो। उनको मुद्दा दोस्रो सुनुवाइका लागि ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको इजलासमा पेशी तोकिएको छ।