January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा तरुलको कारोबार बढ्यो

1.9K

काठमाडौँ – माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा तरुलको कारोबार बढेको छ ।

हिजोदेखि माघे सङ्क्रान्तिका लागि तरुलको कारोबार बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिकाअनुसार यसपालि पोहोरको जस्तै मूल्यमा तरुलको कारोबार भइरहेको छ । 

गएका वर्षहरुमा जस्तै यसपालि सर्लाहीबाट सबैभन्दा धेरै तरुल भित्रिएको छ । सस्तोसँगै मिठो र यो तरुलले तरकारीमा आलुको पनि काम गर्ने भएकाले उपभोक्ताको आकर्षण यसमा धेरै रहेको कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताउनुभयो । 

Advertisement

उहाँकाअनुसार बजारमा अहिले दैनिक ६० देखि ७० मेट्रिक टन तरुलको भित्रिरहेको छ । थोक बजारमा अहिले पाल्पाको हात्ती पाइले तरुल किलोका ९० देखि एक सय रुपैयाँ, धरानको हात्ती पाइले तरुल ५० देखि ६० रुपैयाँ थोक मूल्य छ । यस्तै, वन तरुल किलोको १२० रुपैयाँ किलो, पाताले तरुल १ एक सयदेखि  १४० रुपैयाँ, सर्लाहीको तरुल किलोको ६० देखि ७० रुपैयाँ, सिमल तरुल किलोको १२० रुपैयाँ थोक मूल्य रहेकाे छ । 

सिमल तरुलको कारोबार यसपालि खासै नभएको व्यवसायीले बताएका छन् । यस्तै यसपालि स्कूसको जराको पनि खासै कारोबार नभएको कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताउनुभयो । पोहोर परार स्कूसको जराको कारोबार धेरै हुने गरेकोमा यसपालि घटेको उहाँको भनाइ छ । बजारमा आज स्कूसको जरा किलोको ८० देखि १ सय रुपैयाँ थोक मूल्य छ ।

बजारको मागअनुसारकै तरुल भित्रिरहेकाले भाउ खासै नबढ्ने पनि उहाँले बताउनुभयो ।