काठमाडौं : नेपाल आयल निगमले आगामी १५ दिनमा करिब १८ करोड रूपैयाँ नाफा हुने प्रक्षेपण गरेको छ।
निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नोभेम्बर १ मा भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार यस्तो प्रक्षेपण गरेको हो।
निगमका अनुसार पछिल्लो पटक १६ अक्टोबरमा भारतीय आयल कर्पोरेशनले पठाएको मूल्यसूचीअनुसार पेट्रोल डिजेललगयात अन्य पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि २० महिनापछि निगम नाफामा थियो ।
नोभेम्बर १ को मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६१ पैसा, डिजेलमा ५ रूपैयाँ ७६ पैसा, मट्टितेलमा ४ रूपैयाँ एक पैसा, हवाई इन्धनमा ४ रूपैयाँ ७७ पैसा बढेर आएको निगमले जनाएको छ। खाना पकाउने एलपी ग्यासमा केही घटेर आए पनि निगमले हाल डिजेलमा प्रतिलिटर १२ रूपैयाँ १४ पैसा र एलपी ग्यासमा २ सय २८ रूपैयाँ ८४ पैसा प्रतिसिलिण्डर घाटा रहेको छ ।
निगमका अनुसार १५ दिनमा डिजेलमा ५८ करोड १० लाख र ग्यासमा २६ करोड ३२ लाख रुपैयाँ घाटा हुनेछ। तर पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने नाफाले निगमलाई समग्रमा नाफा हुने विज्ञप्तिमा उल्लेख छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनिमय दर कमजोर हुँदै गएको कारण देखाउँदै तत्काल मूल्य घटाउन नसकिने निगमले उल्लेख गरेको छ।
भारतीय आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता र सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न अझै चुनौतिपूर्ण अवस्था रहेको निगमको तर्क छ।
‘निगमको यस विषम परिस्थिति एवं बाध्यात्मक अवस्थालाई दृष्टिगत गरी हाललाई पेट्रोलियम पदार्थको साबिकको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ’, विज्ञप्तिमा उल्लेख छ।