काठमाडौं । काठमाडौं उपत्यकामा घरजग्गा किनबेच ६४ प्रतिशतले घटेको छ । गत वर्षको ३ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उपत्यकामा घरजग्गा किनबेच उल्लेख्य घटेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार गत वर्षको साउन, भदौ र असोज महिना गरी उपत्यकामा २८ हजार ५ सय घरजग्गा किनबेच भएको थियो । तर, यो वर्ष उक्त संख्या घटेर १० हजार २७७ मा झरेको छ ।
पत्यकामा ९ वटा मालपोत कार्यालय छन् । यी कार्यालयबाट चालु आर्थिक वर्षको साउन महिना ३२ सय १६, भदौमा ४३ सय र असोजमा २७ सय ६१ वटा घरजग्गा किनबेच भएको छ । अघिल्लो वर्ष साउन महिनामा उपत्यकाको ९ वटा मालपोत कार्यालयबाट १० हजार १ सय ४४ घरजग्गा किनबेच भएको थियो ।
त्यस्तै, भदौ ९ हजार २३१ र असोज ९ हजार १२६ घरजग्गा किनबेच भएको तथ्यांक छ । विगतमा मासिक ९ हजार बढी घरजग्गा किनबेच हुँदै आएकोमा हाल ३५ सय हाराहारीमा सीमित भएको छ । सरकारले देशभर भइरहेको जग्गा खण्डीकरणलाई न्यूनिकरण गर्न भू उपयोग नियमावली जारी गरी कित्ताकाटमा उच्च कडाइ गर्दा कारोबार प्रभावित भएको अधिकारीहरु बताउँछन् । पछिल्लो समय शहर केन्द्रित नभएर अन्य कम विकासका स्थानमा मात्रै कित्ताकाट भइरहेको छ ।
त्यससँगै, सरकारले जग्गाको कारोबारलाई कम गर्न विभिन्न नीति अगाडि बढाएकाले पनि यसको प्रभाव देखिन थालेको उनले बताए । सरकारले जग्गा कित्ताकाटमा कडाइ गरेको छ भने अर्कोतर्फ तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा कडाइ गरेको छ । जसले गर्दा घरजग्गा कारोबार दोहोरो चेपुवामा परेको घरजग्गा व्यवसायीहरू बताउँछन् ।