काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको विकल्प ग्रीन हाइड्रोजन बन्न सक्ने बताए । आजदेखि काठमाडौंमा सुरु भएको ग्रीन हाइड्रोजन समिटलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका हुन् ।
शर्माले विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन गरेको ग्रीन हाउस ग्यासका कारण नेपालजस्ता पर्वतीय मुलुक सङ्कटमा परेको उल्लेख गर्दै जलस्रोतको उपयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने बताए । उनले जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि पनि अब विकल्पको खोजी भएको बताए ।
अब बिजुली बिक्री भएन भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि शर्माले बताए । आफूले चालु आर्थिक वर्षको बजेटमा नै हाइड्रोजन र एमोनियाका बारेमा उल्लेख गरेको उनले जानकारी दिँदै कोइलाको स्थानमा ग्रीन हाइड्रोजनको प्रयोग गर्न सकिने र यसमा थप लगानी गर्दै काम प्रारम्भ गर्ने अवसर आएको बताए ।
नेपालले अब विद्युत् बिक्री गर्नु नपर्ने बरु हाइड्रोजन र एमोनिया बनाएर बिक्री गर्न सकिने उनले उल्लेख गर्दै उनले यसमा लगानीको विस्तार, प्रविधिको खोज गर्ने बेला आएको बताए ।