काठमाडौं । आफूले भनेअनुसार लेखापरीक्षण नभएको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालसँग प्रतिबद्धता गरेको ऋणको दोस्रो किस्ता रोकेको छ ।
राष्ट्र बैंकको लेखापरीक्षण अन्तर्राष्ट्रिय लेखापरीक्षक फर्मबाट गराउनुपर्ने शर्त राख्दै आईएमएफले एक्टेन्डेड क्रेडिट फ्यासिलिटी (ईसीएफ) अन्तर्गतको दोस्रो किस्ता रोकेको हो । राष्ट्र बैंकको लेखापरीक्षण हाल महालेखा परीक्षकको कार्यालयले गर्दै आएको छ ।
आईएमएफले ईसीएफ अन्तर्गत नेपाललाई ३९८.८ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।
आईएमएफले सन् २०२१ डिसेम्बर २२ मा पहिलो किस्ता ११० मिलियन दिएको थियो । सम्झौता अनुसार पाउनुपर्ने दोस्रो किस्ता बापत ३९.२ मिलियन डलर २२ जुन २०२२ मा नेपालले पाउनुपर्ने भएपनि आईएमएफले राष्ट्र बैकको आफूले भनेअनुसार लेखापरीक्षण नभएको भन्दै रोकेको हो ।