November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पश्चिम सेती निर्माणका लागि लगानी बोर्डले भारतको एनएचपीसीसँग सम्झौता गर्ने 

3.1K

काठमाडौँ — पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत् परियोजना विकासका लागि भारतीय कम्पनी एनएसपीसी लिमिटेडसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्ने भएको छ ।  सोमबार सिंहदरबारमा बसेको बोर्ड बैठकले पश्चिम सेती तथा सेती नदी– ६ जलविद्युत् परियोजना विकासका लागि एनएचपीसीसँग प्रारम्भिक सम्झौता गर्ने निर्णय गरेको हो ।

७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र ३०८ मेगावाट उत्पादन क्षमताको सेती नदी– ६ आयोजना निर्माणको जिम्मा एनएचपीसीलाई दिनेगरी छिट्टै सम्झौता हुने बाेर्डले जनाएको छ । लगानी बोर्डका सहसचिव अमृत लम्सालले ३२७ मेगावाटको अपर मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको एमओयू गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय पनि भएको बताए ।

त्यस्तै बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनका बाँकी कामहरु गर्ने निर्णय गरेको छ । लम्सालले भने ‘अपर मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको एमओयू गरेर यसको सर्वेक्षणको काम अघि बढाउने भन्ने कुरा भयो । माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको छ ।’

Advertisement