November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पहिरोले म्याग्दीमा सात जलविद्युत् आयोजना निर्माण प्रभावित

3K

काठमाडाैं । पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन्।

रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो।

अरबौ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ। जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन्।

Advertisement

जलविद्युत् आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न आवश्यक पर्ने विस्फोटक पदार्थ ढुवानीमा समस्या भएको हो।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले बाँध र दुई वटा अडिटबाट सुरुङ निर्माण रोकिएको बताए।

‘दग्नामबाट खसेको पहिरोका कारण झिँको सिमानामा रहेको बाँध, अडिट १ र २ को सुरुङ निर्माण रोकिएको छ। पावर हाउस र अन्य अडितको काम भने निरन्तर भइरहेको छ। बाँधतर्फ जाने पहुँचमार्गमा पैदल हिँडेर पनि जान नसकिने पहिरो खसेको छ,’ उनले भने।

राहुघाट नदीमा आएको बाढीले ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सले भाडामा लिएको डोजर बगाएको थियो। तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले, ४८.५ मेगावाटको अपर राहुघाट र संयुक्त ऊर्जा प्रालिले निर्माण गरिरहेको २१.३० मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने पहुँचमार्ग अवरुद्ध भएका छन्।

तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले दग्नामको औरी, चिमखोला र मलाङको पहिरोका कारण डिजेल, सिमेन्ट, रड र विस्फोटक पदार्थ ढुवानी हुन नसकेको बताए।