काठमाडौं । अर्थ मन्त्रालय मातहत निकायका प्रमुखहरुलाई आ–आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पूरा गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८र७९ को प्रगति समीक्षा एवम मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री शर्माले वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्याउन योग्य बनाउनु पर्ने बताए ।
उनले अहिलेको काम गर्ने मुख्य औजार सफ्टवेर भएकाले कार्यालयहरुलाई अहिलेको आवश्यकता अनुसार झन्झटिलो कागजी प्रक्रियाहरूबाट मुक्त गर्दै आधुनिक सूचना प्रविधिमा विकास गर्न पनि निर्देशन दिए । उनले अन्य मन्त्रालय र निकायलाई बजेट कार्यन्वयन गर्न अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने भन्दै कुनै पनि मन्त्रालय र निकायका कामलाई अर्थ मन्त्रालयले रोक्न नहुने बताए ।
यस्तै, मन्त्री शर्माले साना किसान विकास बैंकले काठमाडौं उपत्यकाको तरकारीको खपतको आवश्यकता पूरा गर्ने गरि उत्पादन बढाउन किसानको खेतखेतमा पुग्न पनि निर्देशन दिए । कृषि बिकास बैंकले गाउँका किसानलाई कर्जा दिन निर्देशन दिदै गाउँका किसानले भाका नसार्ने भएकाले त्यसो गर्न उनले निर्देशन दिए ।