November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अर्थमन्त्री प्रकरण: संसदीय विशेष समितिले छानबिनको ‘क्लू’ नै भेटेन

2.3K

काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई करका दर हेरफेरमा संलग्न गराएको र निश्चित व्यापारिक घरानामा फाइदा पुर्‍याउने गरी बजेट निर्माण गरेको आरोपमाथि छानबिन गर्न गठन संसदीय विशेष छानबिन समितिले अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

छानबिन थालेको सातौंदिनसम्म आइपुग्दा पनि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थमन्त्रालय प्रवेश गरेर करका दर हेरफेर भएका थिए कि थिएनन् भन्ने यकिन नभएपछि समिति थप अनुसन्धान गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।

समितिले सीसीटीभी फुटेज रिकभर गर्ने लगायतका प्राविधिक विषयमा नेपाल इन्जिनियरिङ अध्ययन संस्थान र प्रहरीको साइबर ब्यूरोका विज्ञसँग छलफल गर्ने तयारी गरेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

Advertisement

अर्थमन्त्रालयबाट प्राप्त बजेट निर्माणसँग सम्बन्धित कागजातको विश्लेषण, सीसीटीभी फुटेज हेर्ने तथा मन्त्रालयका सचिव, सहसचिव, उपसचिवका साथै बजेट निर्माण र प्राविधिक तर्फका कर्मचारीबाट त्यो दिन के भएको थियो भन्ने कुरा नआएपछि समितिले अनुसन्धान गर्न लागेको हो । ‘सीसीटीभी फुटेज नभएपछि असम्बन्धित मान्छे हो कि होइन भन्नेमा समिति निष्कर्षमा पुगेको छैन । अधिकारीहरूसँग सोध्दा पनि मान्छेहरू आएका छैनन् भन्छन् । सचिव, सहसचिव र उपसचिवहरू त्यस्तै भन्छन्,’ समितिका एक सदस्यले भने । अर्थमन्त्रालयको स्थलगत निरीक्षणसमेत गरेर जानकारी लिएको समितिले सातौंदिनसम्म यहि नै भएको थियो भन्ने यकिन गर्न सकेको छैन ।

सोधेखोजका लागि बोलाइएका अर्थ मन्त्रालयका अधिकारीले बजेट निर्माणका क्रममा कोही पनि अनधिकृत व्यक्ति उपस्थित भएको अस्वीकार गरेका तर सीसीटीभी फुटेज नहुनुले आशंका उत्पन्न भएको समितिका एक सदस्यले बताए । ‘आइतबार बेलुकासम्म संसदीय विशेष छानबिन समिति सीसीटीभीमा उक्त दिनको फुटेज नभएको निष्कर्षमा पुगेको थियो । त्यसपछि समितिले सीसीटीभीको सिस्टम (प्रणाली)नै मगायो । प्रणालीमाथि सोमबार अर्थमन्त्रालयका कर्मचारी र प्राविधिकहरूसँग छलफल भएको छ । त्यसपछि सिस्टममा पनि खोजेको समय (जेठ १४ राति) को सीसीटीभी फुटेज छैन भन्ने निष्कर्षमा पुगियो,’ ती सदस्यले भने, ‘अब को-कोसँग छलफल गरेर खोज्दा भेटिन्छ भन्ने अनुसन्धानको प्रक्रियामा जाने भइयो । अब छानबिनबाट समिति अनुसन्धान प्रक्रियामा प्रवेश गर्ने भयो ।’